विवाह अघि नै निता र हरिहरले गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत

विवाह अघि नै निता र हरिहरले गरे ‘ह्रस्व दीर्घ’को शुभसाइत

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीले यही असार २४ गते विवाह गर्दैछन् । यतिबेला उनीहरु विवाहको तयारीमा जुटेका छन् । यसैबीच, यो जोडीले विवाहभन्दा पहिले सिनेमा ‘ह्रस्व दीर्घ’को शुभसाइत गरेको छ । ‘नीता फिल्मस्’को ब्यानरमा निर्माण हुन लागेको सिनेमाको आइतबार भक्तपुरको सुर्यविनायक मन्दिरमा मुहूर्त गरिएको हो ।

ज्योतिष समेत रहेका हरिहर अधिकारीले निकालेको शुभ साइतमा स्कृप्ट र क्ल्याप पूजा गर्दै सिनेमाको ‘टाइटल फन्ट’ समेत सार्वजनिक गरिएको छ । सार्वजनिक टाइटल फन्टले सिनेमा एक्सन प्रधान रहेको बुझाउँछ । दक्षिण भारतीय सिनेमा भिलेनको प्रवेश र द्वन्द्व निर्देशनमा आफूलाई स्थापित गरेका चन्द्र पन्तले निर्देशन गर्ने भएकाले सिनेमा एक्सन जनरामा बन्ने निश्चित नै थियो ।

आगामी दशैंपछि छायांकन सुरु हुने सिनेमामा ‘पुष्पा’ भिलेन सुनिल वर्मा, ‘गजनी’ भिलेन प्रदीपराज रावत, विश्व प्रख्यात कलाकार ब्रह्मानन्दम र अली अनुबन्ध भइसकेका छन् । त्यस्तै, नेपालबाट नीता र हरिहरसँगै सरोज खनाल र सलोन बस्नेतको पनि सिनेमामा अभिनयमा रहनेछ । सिनेमामा बलिउडको एक चर्चित अभिनेत्रीलाई समेत अनुबन्ध गराउने तयारीमा निर्माण टिम छ ।

बलिउड सिनेमेटोग्राफर कबीरलालले खिच्ने सिनेमाको स्कृप्ट प्रतीक पौडेलले लेखेका छन् । सिनेमाको मुख्य सहायक निर्देशकमा वसन्त अधिकारी रहनेछन् । भारतको हैदराबादस्थित संसारको सबैभन्दा ठूलो रामोजी स्टुडियोमा सिनेमाको छायांकन हुँदैछ भने नेपालमा पनि केही प्रतिशत खिचिनेछ ।