पौष २९ मा ‘गुञ्जन’ रिलिज घोषणा

पौष २९ मा ‘गुञ्जन’ रिलिज घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरोना महामारीभन्दा अगाडि काम गरेको सिनेमा ‘गुञ्जन’ले प्रदर्शन मिति पाएको छ । निर्माता र वितरकबीच मंगलवार भएको सहमति अनुसार आगामी पुष २९ गते सिनेमा प्रदर्शन हुनेछ । सिनेमालाई मोफसलमा एफडी कम्पनी र काठमाडौंभित्र जिजिए ग्रुप र डिसिएनले वितरण गर्नेछन् । माघे संक्रान्तिलाई लक्षित गर्दै सिनेमाको प्रदर्शन मिति तोकिएको हो ।

कोभिड अघि नै सम्पूर्ण छायांकन सकिएको भएपनि सिनेमाको एक गीतको छायांकन गत वर्ष दुबईमा गरिएको थियो । विगत दुई दशकदेखि नेपाली सिनेमामा द्वन्द्व निर्देशन गर्दै आएका अष्ट महर्जनले ‘गुञ्जन’ निर्देशन गरेका हुन् । यो उनको डेब्यू निर्देशित सिनेमा हो । उनले नेपाली सिनेमा क्षेत्रबाट आफूले सिकेको र जानेको सम्पूर्ण ज्ञान, सिप र अनुभवलाई सिनेमामा खन्याएको बताएका छन् ।

प्रेमकथामा बनेको यस सिनेमामा सारा सिरपाइली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा, अमेश न्यौपाने लगायतको अभिनय छ । प्रितमले यही सिनेमाबाट अभिनेताको रुपमा डेब्यू गर्दैछन् । सिनेमाको काठमाडौं, पोखरा र जोमसोममा छायांकन गरिएको हो ।

एएच इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको सिनेमामा राजु श्रेष्ठको छायांकन, विपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य निर्देशन, कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीको संगीत रहेको छ । सिनेमामा हिराकृष्ण शाही प्रस्तुकर्ता र सुनिता शाही निर्मातामा हुन् । सिनेमाको एक गीतमा अभिनेत्री नीता ढुंगानाले आइटम नृत्य गरेकी छन् ।