रिमेश अधिकारी निर्देशित ‘नालापानी’ मोशन पोस्टर रिलिज

रिमेश अधिकारी निर्देशित ‘नालापानी’ मोशन पोस्टर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कात्तिक ४ गतेबाट प्रदर्शनमा आउन लागेको ऐतिहासिक विषयवस्तुमा आधारित सिनेमा ‘नालापानी’को मोशन पोस्टर सार्वजनिक गरिएको छ । यूट्युबमा सार्वजनिक ४४ सेकेन्डको पोस्टरमा एक पात्र हातमा तरवार लिएर प्रस्तुत छन् भने पृष्ठभूमिमा केही पात्रहरु घोडामा सवार देखिन्छन् । सिनेमाको कथा बोल्ने गीतलाई पृष्ठभूमिमा राखिएको छ । मोशन पोस्टरमा सुनिने ब्याकग्राउन्ड स्कोरले सिनेमाप्रति उत्सुकता पैदा गर्छ ।

विकास बोर्डबाट ‘विशेष सिनेमा २०२०’ स्पेशल अवार्ड पाएको सिनेमा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज-नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर सिनेमा निर्माण भएको हो । आगामी सेप्टेम्बर २४ मा अष्ट्रेलियामा ‘नालापानी’को प्रिमियर हुने निर्देशक रिमेश अधिकारीले बताए ।

वीर योद्धा कुँवर र उनका ६०० सेनाले नालापानी युद्धमा कसरी साहस र बहादुरी देखाए । सिनेमामा नेपाली वीरताका गाथा तथा नेपाली सेनाको इतिहास समेटिएकोले विद्यार्थी तथा देशका उच्च ओहदामा बसेकाहरूले पनि ‘नालापानी’ हेर्नुपर्ने निर्देशक अधिकारीले बताउँछन् । सिनेमाको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । ‘नालापानी’का एशोसियट निर्माता सपन कुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन् ।

सिनेमामा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, विजय बिष्फोट, पूजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय, लक्ष्मी नाथ, गायत्री घिमिरे, जनक बर्तौला, विशाल श्रेष्ठ, सहिना भट्टराई, गीत बिष्ट, युगजंग कार्की, सिमन खड्का, सुशील खडका, बाल कलाकार तेजस्वी गुरुङ, हार्दिक थपलिया, प्रनिस शाक्य, निर्माण थपलिया साथै विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन र सामलगायतको अभिनय छ ।

रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोर्खाली फिल्मस, गंगा नारायण फिल्म प्रोडक्सन र बिजी बी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘नालापानी’मा भिएफएक्स अच्युत गजुरेल, छायांकन राम शरण उप्रेती, सम्पादन बिपिन मल्ल, द्वनद्व निर्देशन रोशन श्रेष्ठ, नृत्य निर्देशक कबिराज गहतराज, संगीत डिजे एलेक्स र सुजिल कर्माचार्यको रहेको छ । राम भट्टराई र हरि उप्रेतिले रचना गरेका सिनेमाका गीतमा गायक राजेश पायल राई, मेलिना राई र रानी शाक्य स्वर रहेको छ ।