तिहारमा ‘के घर के डेरा’को रिलिज घोषणा, सर्यो ‘परस्त्री’

तिहारमा ‘के घर के डेरा’को रिलिज घोषणा, सर्यो ‘परस्त्री’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बुधवार राजधानीमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गर्दै दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘के घर के डेरा’को प्रदर्शन मिति घोषणा गरिएको छ । सिनेमाको गत हप्ता छायांकन सकिएको थियो । छायांकन सकिएसँगै सिनेमा डिजिटल र वितरक राइट्सको लफडामा समेत मुछिएको थियो । आकस्मिक पत्रकार भेटघाट कार्यक्रममा निर्माण टिमले यी सवै कुराको जवाफ पनि दिएकको हो ।

सोही कार्यक्रममा निर्मात्री शर्मिला पाण्डेसँग मिलेर निर्देशक खनालले निर्माण गरेको सिनेमा ‘परस्त्री’लाई पछाडि सार्दै ‘के घर के डेरा’लाई तिहारमा प्रदर्शन गर्न लागिएको जानकारी दिइयो । घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो सिनेमालाई फागुन १९ मा सारिएको छ । शर्मिलाले जेठो छोरा दीपेन्द्रको सिनेमाका लागि ‘परस्त्री’को रिलिज डेट सारेको जानकारी दिइन् ।

‘के घर के डेरा’ र ‘परस्त्री’को प्रदर्शन मिति घोषणा कार्यक्रममा शर्मिलाले भनिन्, ‘मैले घोषणाकै समयमा ‘परस्त्री’को रिलिज डेट घोषणा गरेको थिएँ । तर, नेपाली र हिन्दी भाषामा निर्माण भइरहेकाले निर्धारित मितिमा प्रदर्शन गर्न नसकिने भएपछि जेठो छोरा दीपेन्द्र के खनालको सिनेमाका लागि प्रदर्शन मिति छाडेको हुँ ।’ ‘परस्त्री’लाई उनका छोरा सुरज पाण्डेले निर्देशन गरेका हुन् ।

‘के घर के डेरा’मा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको पनि अभिनय छ । सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा तथा संवाद, शंकर थापा स्माइलको संगीत, दिर्घ गुरुङको छायांकन र दिर्घ खड्काको सम्पादन छ । युवराज कार्की कार्यकारी निर्माता रहेको सिनेमाका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।

सिनेमाको निर्माण टिमले पत्रकार सम्मेलनमा आफ्नो सिनेमाको नाममा कसैले पैसा उठाएको विषयमा थाहा नभएको जानकारी दिएको छ । कोरोना महामारी अगाडी सिनेमाको कार्यकारी निर्मातामा सिंगे लामा रहेपनि छायांकन समयसम्म पुग्दा उहाँ टिमको सर्म्पकमा नआएकाले आफ्नो हिसावले काम अघि बढाएको कार्यकारी निर्माता युवराज कार्कीले बताए ।

सिनेमाका निर्माता मध्येका एक शरद श्रेष्ठले सिनेमाको डिजिटल र वितरक राइट्स बेच्ने अधिकारी निर्मातालाई मात्र हुने भएकाले आफुहरुलाई सो विषय जानकारी नभएको खुलाए । ‘हामी सिनेमाको छायांकन अगाडी बढाएपछि उहाँहरु हामी कहाँ आउनु भाको थियो । टिमसँग सल्लाह गरेपछि हामीले हाल सम्झौता गरेका कम्पनिसँग यस्तो डिल भएको छ, त्यही अनुसार गरौंभन्दा उहाँहरु मान्नु भएन ।’