घनश्याम निर्देशित ‘लण्डन टु पेरिस’को छायांकन सुरु

घनश्याम निर्देशित ‘लण्डन टु पेरिस’को छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – घनश्याम लामिछानेको निर्देशनमा निर्माण हुने सिनेमा ‘लण्डन टू पेरिस’को छायांकन सुरु गरिएको छ । शुक्रवार लण्डनमा सिनेमाको शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो । सिनेमाका मुख्य कलाकार साम्राज्ञी आरएल शाह, निश्चल खड्का, गरिमा शर्मा र कबीर खड्काले मुहूर्त सट दिएका थिए । निश्चल र गरिमा यही सिनेमाबाट डेब्यू गर्दैछन् ।

सिनेमाको छायांकनका लागि चार जना कलाकारको टोली यसै साता लण्डन प्रस्थान गरेको थियो । निर्देशक लामिछानेसहितको टोली भने केही हप्ता अगाडि नै छायांकनको चाँजोपाँचो मिलाउन लण्डन पुगिसकेको थियो । ट्राभल लभस्टोरीको कथामा निर्माण हुन लागेको सिनेमाको सम्पूर्ण छायांकन बेलायत र फ्रान्समा हुनेछ । सिनेमामा साम्राज्ञीले डेव्यु अभिनेता निश्चलसँग रोमान्स गर्नेछिन् ।

छायांकनअघि कलाकारलाई एक महिना रंगकर्मी सरिता गिरीले वर्कसप गराएकी थिइन् । एबी इन्टरनेशनलको ब्यानरमा निर्माण हुने सिनेमाको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । सिनेमाको निर्मातामा अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह-निर्मातामा अजित सिंह छन् ।

एबी इन्टरनेशनलले निर्माण गरेकको सिनेमा ‘सम्हालिन्छ कहिले मन’ आगामी भदौ १७ गतेबाट प्रदर्शनमा आउँदैछ । त्यस्तै, यसै महिना यही कम्पनीले निर्माण गरेको सिनेमा ‘हनी बनी’को छायांकन सकाएको थियो ।