‘प्रेमगञ्ज’को ‘समय’ गीतमा बेनिशाप्रति तेजको एकतर्फी प्रेम

‘प्रेमगञ्ज’को ‘समय’ गीतमा बेनिशाप्रति तेजको एकतर्फी प्रेम

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी भदौ ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘प्रेमगन्ज’को तेस्रो गीत ‘समय’ सार्वजनिक गरिएको छ । शनिवार ओएसआर डिजिटलमार्फत् सार्वजनिक गीतमा पुरुषोत्तम ढुंगेलको शब्द तथा संगीत रहेको छ भने किरण भुसालले आवाज दिएका छन् ।

गीतमा सिनेमाका मुख्य कलाकार बेनिशा हमाल, तेज गिरी, राइडर प्रशन र सुप्रिया खनाल फिचर्ड छन् । स्याड भर्सनको गीतलाई तेज गिरीको दृष्टिकोणबाट प्रस्तुत गरिएको छ । बेनिशाप्रति तेजको प्रेम र समर्पणको भावलाई गीतले व्यक्त गर्छ । तेज र बेनिशाले युवा उमेरको ‘मैनाराजा’को भूमिकामा अभिनय गरेका छन् भने उनीहरुको टिनएजरको भूमिकामा प्रशन र सुप्रिया प्रस्तुत छन् ।

‘समय’ गीतलाई सिनेमामा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक परिच्छेदले जानकारी दिए । निर्देशक सेनका अनुसार, सिनेमामा दुई कालखण्डको प्रेमकथा देख्न सकिन्छ । अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको लेखक परिच्छेद सेन आफैं हुन् । सिनेमाको यसअघि सार्वजनिक गीत संगीत र टिजरले दर्शकमाझ राम्रो स्थान बनाएको निर्माण टिमको दाबी छ ।

सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको सिनेमामा नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाइली, प्रविन भट्टराईलगायतका कलाकारको अभिनय छ । ‘प्रेमगञ्ज’मा अभिनेत्री सुरक्षा पन्त अतिथि भुमिकामा देखिने छिन् ।