निर्माता सुनिल कुमार थापाको ओपन-हार्ट सर्जरी सफल

निर्माता सुनिल कुमार थापाको ओपन-हार्ट सर्जरी सफल

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता सुनिल कुमार थापाको ओपन-हार्ट सर्जरी गरिएको छ । मंगलवार विहान ९ बजे काठमाडौंस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा डा. भगवान कोइरालाको टोलीले निर्माता थापाको ओपन-हार्ट सर्जरी गरेको हो । पिताको मुटुको अपरेशन सफल भएको खुशी अभिनेत्री सुहाना थापाले समाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेकी छन् ।

अभिनेत्री सुहानाले फेसबुकमा लेखेकी छन्, ‘मानव जीवन धेरै दुर्लभ र जटिल छ । समय अघोषित रूपमा आउँछ र अप्रत्याशित हुन्छ । त्यो अप्रत्याशिततामा जीवनको कुञ्जी समात्ने प्रमुख व्यक्तिहरू हुन्छन् । बुबा छिट्टै निको हुनुहोस्, तपाईंलाई अंकमाल गर्न म प्रतिक्षा गर्न सक्दिनँ ।’ उनले डा. कोइरालासँग खिचेको तस्विर पनि समाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी छन् ।

निर्माता सुनिल कुमार थापाको मुटुमा प्वाल परेको थियो । बच्चामा नै उनको मुटुमा प्वाल देखिएको थियो । तर, ठूलो हुँदै गएपछि प्वाल पुरिँदै जाने चिकित्सकको सल्लाहमा उनले सर्जरी गरेका थिएनन् । तर, अहिले पनि मुटुमा प्वाल देखिएपछि निर्माता थापाले सर्जरी गरेका हुन् । उनी केही महिनाअघि अमेरिकामा थिए । तर, उनले सर्जरी गर्न नेपालकै अस्पताल र चिकित्सक रोजेको अभिनेत्री तथा थापा पत्नी झरनाले बताएकी हुन् ।

सर्जरीपछि उनलाई आइसियूमा राखिएको छ । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । २ दशकदेखि निरन्तर सिनेमा निर्माण गर्दै आएका छन् । थापाले छोरी सुहानालाई लिएर सिनेमा ‘भागवद् गीता’ निर्माण गर्दैछन् । उनले निर्माण गरेको फिल्म ‘ए मेरो हजुर ४’ गत बैशाख १ गते रिलिज भएको थियो । सिनेमाले बक्कसअफिसमा बम्पर व्यापार गरेको थियो ।