अभिनेता रेमनदास श्रेष्ठले गरे विदेशी प्रेमिकासँग विवाह

अभिनेता रेमनदास श्रेष्ठले गरे विदेशी प्रेमिकासँग विवाह

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता रेमनदास श्रेष्ठ विदेशी प्रेमिकासँग विवाह बन्धनमा बाँधिएका छन् । उनले जर्मनी प्रेमिका जना मुद्रासँग लगनगाँठो कसेका हुन् । बिहीवार काठमाडौंस्थित ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टमा उनीहरुको वैवाहिक कार्यक्रम चलिरहेको छ । यो रेस्टुरेन्ट रेमनले अभिनेत्री नम्रता श्रेष्ठसँग मिलेर खोलेका हुन् । रेमनको विवाह कार्यक्रमका लागि बिहीवार एटिकले ग्राहकलाई दिने सुविधा बन्द गरेको छ ।

रेमन र जनाको विवाहमा दुई पक्षका परिवार र आफन्तसँगै रेमन नजिकका केही सिनेमाकर्मी सहभागी छन् । विवाहका लागि जनाको परिवार यसै साता जर्मनीबाट नेपाल आएको थियो । रेमन र जना विगत ५ वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा रहेको बताइन्छ । उनीहरुले हिन्दू परम्पराअनुसार नै विवाह गरेका हुन् । रेमनदासले आगामी शनिवार चितवनमा रिसेप्सन पार्टी दिँदैछन् ।

पछिल्लो समय रेमन चर्चित टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज’मा होस्टको रुपमा आबद्ध छन् । कलाकार मदनदास श्रेष्ठका छोरा रहेका रेमनले ‘जाइरा’, ‘द ब्रेकअप’, ‘आधा लभ’, ‘जालो’, ‘मेघा’, ‘कर्कस’, ‘भिसा गर्ल’ लगायत एक दर्जन बढी सिनेमामा अभिनय गरेका छन् ।