प्रेम र विछोडको कथामा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ ट्रेलर

प्रेम र विछोडको कथामा पुष्प र श्रद्धाको ‘कृष्ण लीला’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता पुष्प खड्का र डेव्यु अभिनेत्री श्रद्धा क्षेत्री अभिनित भदौ ३ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी सिनेमा ‘कृष्ण लीला’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीवार डिआर मुभिजबाट सार्वजनिक भएको २ मिनेट ५५ सेकेन्ड लम्बाईको ट्रेलरमा सिनेमाका २ पात्र कृष्ण र लीलाबीचको प्रेम र विछोडलाई देखाइएको छ । ट्रेलरमा पुष्प अटिजम क्यारेक्टरमा प्रस्तुत छन् ।

एउटा सपना बोकेर हिँडेकी युवतीको सुस्त मनस्थिति भएको युवकसँग माया बसेपछि आउने उतार-चढावमा सिनेमा केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याएको छ । ट्रेलरको अन्तिममा श्रद्धालाई प्रहरीको भूमिकामा देख्न सकिन्छ । ट्रेलरले दर्शकमा सिनेमाप्रति कौतुहलता जगाउन सफल छ । पुष्प ‘कृष्ण लीला’मा सशक्त चरित्र र अभिनयसहित देखिन लागेको ट्रेलरले संकेत गर्छ ।

बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतमलगायतको पनि अभिनय रहेको सिनेमामा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, बाबुल गिरी र अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको लेखन, माइकल चन्द र रामजी लामिछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ । दीपक वलीले निर्देशन गरेको सिनेमाका प्रस्तुतकर्ता रोहित कट्टेल हुन् ।

रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको सिनेमाको निर्मातामा प्रकाश राज कार्की र केवल तामाङ छन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ ‘कृष्ण लीला’को सह-निर्माता हुन् । उमेरले बढी भए पनि शारीरिक रुपमा कमजोर भएको चरित्रमा अभिनय गरेका कारण दर्शकलाई आफ्नो क्यारेक्टर फरक लाग्ने विश्वास अभिनेता पुष्पको खड्काको छ ।