मुकुन र बेनिशाको ‘बिजुली : च्याप्टर एक’ निर्माण घोषणा

मुकुन र बेनिशाको ‘बिजुली : च्याप्टर एक’ निर्माण घोषणा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – विकास गिरीको निर्देशनमा सिनेमा ‘बिजुली : च्याप्टर एक’ निर्माण घोषणा गरिएको छ । शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै सिनेमाको निर्माण घोषणा गरिएकको हो । निर्देशनमा डेव्यु गर्न लागेका गिरीकै लेखन रहेको सिनेमाको निर्माता लुना केसी हुन् ।

सिनेमामा मुकुन भुषाल, बेनिशा हमाल, कालु राना अनुबन्ध भएका छन् भने बाँकी कलाकार चाँडै छानिने निर्देशक गिरीले बताए । निर्माण टिमले सिनेमाको औपचारिक घोषणा गर्दै सार्वजनिक गरेको फर्स्टलुकमा मुकुन महिलाको अवतारमा प्रस्तुत छन् । उनी सिनेमामा ट्रान्सजेन्डरको भूमिकामा देखिने पोस्टरबाट आँकलन गर्न सकिन्छ ।

बासुकी फिल्मस्को ब्यानरमा निर्माण हुने सिनेमामा हिन्दूहरुको महान तीन धर्मग्रन्थहरु रामायण, महाभारत र भागवद् गीताका चरित्रलाई समेटिने निर्देशक गिरीले जानकारी दिए । क्रियटिभ प्रोडूसर केदार भुसाल रहने सिनेमाको छायांकन आगामी भदौ तेस्रो साताबाट सुरु गर्ने तयारीमा निर्माण टिमको छ ।

हरि घले लामाले छायांकन गर्ने सिनेमा सत्य, त्रेता, द्वापर र कलियुगको प्रतिनिधि पात्रको कथामा बन्ने र सिनेमाको दोस्रो भाग पनि निर्माण हुने बताइएको छ । सिनेमाको कथाअनुसार आफ्नो भूमिकाको लागि आफूले अत्याधिक मेहनत गर्नुपर्ने अभिनेता भुषालले बताए ।

सोसल ड्रामा तथा सस्पेन्स कमेडी जनराको सिनेमाले नेपाली दर्शकलाई एउटा फरक स्वाद दिने क्रियटिभ प्रोडूसर केदार भुसालले बताए । त्यस्तै, अभिनेत्री हमालले नयाँ र जोश-जाँगरसहित केही गर्ने सपना बोकेको टिमसँग जोडिन पाएकोमा खुशी व्यक्त गरिन् । सिनेमामा एसोसियट निर्देशक आयुष बिसी, मुख्य सहायक निर्देशक शंकर धिताल, प्रोडक्सन म्यानेजरमा नेत्र विष्ट रहेका छन् ।