‘दि सिक्रेट्स अफ राधा’को तीज गीतमा प्रियंका र सृष्टिको नृत्य

‘दि सिक्रेट्स अफ राधा’को तीज गीतमा प्रियंका र सृष्टिको नृत्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुर्वण थापा निर्देशित सिनेमा ‘दि सिक्रेट्स अफ राधा’को पहिलो गीत सार्वजनिक गरिएको छ । भदौ १० गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको गीत सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै तयार पारिएको तीज गीत ‘पाउमा पाउजु’मा रिलिज गरिएको हो ।

सज्जा चौलागाई र स्वस्तिका ढकालको आवाज रहेको गीतमा कालीप्रसाद बाँस्कोटाको संगीत र सृजना खत्रीको शब्द रचना छ । कविराज गहतराजले कोरियोग्राफी, सञ्जय लामाको छायांकन र विपिन मल्लको सम्पादन रहेको गीतको भिडियोमा अभिनेत्री द्वय सृष्टि श्रेष्ठ र प्रियंका कार्की छमछमी नाच्दै देखिएका छन् । सिनेमामा सृष्टिको मुख्य भूमिका छ भने प्रियंकाले गीतमा मात्र नृत्य गरेकी हुन् ।

सोमवार राजधानीमा आयोजित कार्यक्रममा सुर्वण थापाले गीतलाई सिनेमामा कथावाचनको रुपमा राखिएको बताए । सिनेमामा सौगात मल्ल, दयाहाङ राई, मेनुका प्रधान, निश्चल बस्नेत, खगेन्द्र लामिछाने, बुद्धि तामाङ, दिव्य देव पन्त, पुस्कर गुरुङ, पशुपति राई, लोकेन्द्र लेखक, राजन खतिवडालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

सिनेमामा बरिष्ठ रंगकर्मी सुनिल पोखरेल अतिथी भूमिकामा प्रस्तुत छन् । निर्देशक थापाले अभिनेता सौगात मल्लसँग सहकार्य गरेर सिनेमाको निर्माण गरेका हुन् । आदियोगी भिजन, महारानी इन्टरटेन्मेन्ट युके, मन्डला अनलाइन, एएमआइ फिल्मस्को प्रस्तुति र मन प्रोडक्सनको एसोसिएनमा निर्माण र बिरजना इन्टरटेनमेन्ट तथा बिक्रमदास जोशी सह-निर्माता रहेको सिनेमामा निर्देशक सुवर्णको कथा, नरेन्द्र मैनालीको छायांकन, निमेश श्रेष्ठको सम्पादन रहेको छ ।