शिक्षक बन्न संघर्षरत युवाको कथा ‘प्रकाश’ ट्रेलर सार्वजनिक

शिक्षक बन्न संघर्षरत युवाको कथा ‘प्रकाश’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दिनेश राउत निर्देशित सिनेमा ‘प्रकाश’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा सिनेमाको कथालाई प्रस्ट्याउन खोजिएको छ । सरकारी स्कूलको शिक्षक बन्न गाउँको एक विपन्न युवकले गर्नुपरेको संघर्ष र बेपत्ता श्रीमानको पखाईमा रहेकी एक महिलाको कथालाई ट्रेलरमा देखाइएको छ ।

आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउने सिनेमाको ट्रेलरमा अभिनेता प्रदीप खड्कालाई मुख्य केन्द्रमा राखिएको छ । उनको जुम्लेली लुक्स र लवज पृथक लाग्छ । यसपटक उनी कलाकारको रुपमा चरित्रमा बाँचेको ट्रेलर हेर्दा महशुस हुन्छ । जुम्लेली पात्रमा उनले गरेको अभिनय प्रशंसायोग्य छ । अभिनेत्री दीया मास्केको लुक्स र अभिनयले पनि सिनेमाप्रति कौतुहलता पैदा गर्छ । यो सिनेमामा प्रदीपले दीयाको छोराको भूमिकामा अभिनय गरेका छन् ।

ट्रेलर रिलिज कार्यक्रममा प्रदीपले ‘प्रकाश’बाट आफ्नो पुनः जन्म भएको बताए । ‘सिनेमामा मैले गर्न खोजेको हिसाबमा म खुशी छु । कसैले मलाई राम्रो वा नराम्रो गरिस् भनेर भनेको भएपनि मैले प्रयास गरेको छु र त्यसमा खुशी छु । टिजर, पोस्टर र गीत आएपछि प्रशंसा हुँदा खुशी लागेको छ । अब सिनेमा व्यवसायिक रुपमा सफल भयो भने प्रकाशको यात्रा सार्थक भएको महशुस हुनेछ,’ अभिनेता खड्का भने ।

दीयाले भने ‘प्रकाश’मा आफ्नो करिअरकै सबैभन्दा चुनौतीपूर्ण भूमिका रहेको दाबी गरिन् । सिनेमामा निर्वाह गरेको सीताको चरित्र नेपाली समाजमा अझै पनि ठूलो संख्यामा रहेको र त्यसैको प्रतिनिधित्व आफूले गरेको उनको भनाई छ । त्यस्तै, कमर्शियल सिनेमाका निर्देशकको रुपमा चिनिएका दिनेश राउतले ‘प्रसाद’भन्दा एक स्तर माथि उठेर ‘प्रकाश’ बनाउने प्रयास गरेको बताए ।

बिनिस इन्टरटेनमेन्टको ब्यानरमा महेन्द्र अधिकारी निर्माता रहेको सिनेमामा प्रकाश घिमिरे, निरज पन्थी, राजन खतिवडा, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक लगायतको पनि अभिनय छ । सिनेमामा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको छ ।