सरोगेसीको कथा ‘माइकल अधिकारी’ ट्रेलर सार्वजनिक

सरोगेसीको कथा ‘माइकल अधिकारी’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनित सिनेमा ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ३ मिनेट १९ सेकेन्ड लम्बाईको ट्रेलरमा कमेडी, लभ, सोसियल ड्रामा, इमोसन मिश्रित छ । श्रीमान्-श्रीमतीको भूमिकामा रहेका सौगात र सृष्टिको घर झगडाबाट सुरु भएको ट्रेलर पीडादायक कथा भन्दै सकिन्छ ।

रन्जित रौनियार निर्देशित सिनेमाले शहरमा रोजीरोटीका लागि संघर्ष गरिरहेको एक दाम्पतीमा आर्थिक समस्याले उत्पन्न झगडा, पैसाका लागि कोख भाडामा लगाउने महिला आमा बनेपछि बच्चा अरुलाई सुम्पिन तयार नभएपछिको परिस्थितिलाई ट्रेलरमार्फत् प्रस्ट्याउन खोजिएको छ । सिनेमाको सार्वजनिक ट्रेलर इन्टरटेनिङ र इन्गेजिङ छ । सिनेमामा सृष्टिको अभिनयमा परिपक्वता देखिने महशुस सार्वजनिक ट्रेलरमा हुन्छ ।

उद्दव पौडेलको प्रस्तुतीमा निरक पौडेल निर्माता रहेको सिनेमामा अशान्त शर्मा, लुनिभा तुलाधर, एनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, दीलिप बोहोरा, केन्द्र भट्टराई, बाल कलाकारहरु आर्या पौडेल र केभिन परियारको अभिनय छ । गरिबी, अभाव र समस्याको कारण अर्काको भ्रुण गर्भमा हुर्काएर बच्चालाई जन्म दिने सरोगेसीको कथामा सिनेमा निर्माण भएको हो ।

मनोज केसी प्रोडक्सन म्यानेजर रहेको सिनेमामा कमल राई र कविराज गहतराजको कोरियोग्राफी, शम्भुजित बाँस्कोटा र रेभन सिंहको संगीत, शैलेश कँडेल क्षेत्री र दयाराम पाण्डेको शब्द रचना, मित्र डि गुरुङको सम्पादन, राजु विक्रम थापाको छायांकन र शैलेश कँडेल क्षेत्रीको पटकथा तथा संवाद छ । निर्देशक रन्जितको कथा रहेको सिनेमा आगामी भदौ ३ गतेबाट नेपालभरका सिनेमा घरबाट प्रदर्शनमा आउँदैछ ।