‘चंगाचेट २’ निर्माण घोषणा, मुख्य भुमिकामा अर्पण थापा

‘चंगाचेट २’ निर्माण घोषणा, मुख्य भुमिकामा अर्पण थापा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – दीपेन्द्र के खनाल निर्देशित सिनेमा ‘चंगाचेट’को दोस्रो सिरिज निर्माण हुने भएको छ । शुक्रवार विकास बोर्डमा निर्मात्री शर्मिला पाण्डेले सिनेमाको शिर्षक दर्ता गराएकी हुन् । मंसिरपछि छायांकन गर्ने गरी अहिले प्रिप्रोडक्सनको काम भैरहेको छ ।

‘चंगाचेट २’लाई पनि निर्देशक खनालले नै निर्देशन गर्दैछन् । उनले अब सिनेमाको स्क्रिप्ट लेखनको काम सुरुवात गरिने जानकारी दिए । ‘चंगाचेट’लाई माधव वाग्लेले निर्माण गरेका थिए । सिनेमा प्रदर्शनको समयमा वाग्लेलाई आर्थिक समस्या उत्पन्न भएपछि निर्मातामा शर्मिला जोडिएकी थिइन् । निर्माता वाग्लेबाट ‘चंगाचेट’को अधिकार लिएर शर्मिलाले सिनेमा निर्माण लागेकी हुन् ।

सिनेमाको ‘गोजीमा दाम छैन’ बोलको गीत अहिले पनि उतिक्कै चर्चामा छ । सिनेमामा समावेश यो गीतले सिनेमाको व्यापारमा समेत फाइदा पुगेको थियो । निर्देशक खनालले ‘चंगाचेट २’मा अभिनेता अर्पण थापा फाइनल भइसकेको बताए । अन्य कलाकार भने स्क्रिप्ट फाइनल भएपछि मात्र छनोट गरिने उनको भनाई छ । यसपटक आफूले गम्भीर कथालाई रमाइलो तरिकाले प्रस्तुत गर्ने बताए ।

दीपेन्द्रले भने- ‘सामाजिक कथालाई अलिकता व्यवसायिक रुपले प्रस्तुत गर्नुपर्छ भन्ने लागेर अबका केही सिनेमा त्यसरी नै निर्माण गर्नेछौं ।’ शर्मिला पाण्डेसँग निर्देशक खनालले पहिलो पटक सिनेमा ‘लभ लभ लभ’मा सहकार्य गरेका थिए । यसपछि उनीहरुले डीएस डिजिटलबाट निर्माण भएका सिनेमा ‘आमा’, ‘घर’, ‘चिसो मान्छे’मा सहकार्य गरिसकेका छन् ।