काठमाडौंका सडकमा ‘म’को प्रचार, आम-मानिसलाई आर्कषण गर्ने लक्ष्य

काठमाडौंका सडकमा ‘म’को प्रचार, आम-मानिसलाई आर्कषण गर्ने लक्ष्य

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुवर्ण थापा निर्देशित साउन २० गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘म’को टिमले आम-मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुने उद्देश्यसहित सडकबाट प्रचार सुरु गरेको छ । शुक्रवार सिनेमाको टिमका सदस्यले अनुहारमा कलात्मक पेन्टिङ्गसहित ‘म’ अंकित टिसर्ट लगाएर काठमाडौंका विभिन्न चोक तथा गल्लीमा सर्वसाधारणसँग प्रत्यक्ष भेट गर्दै सिनेमाको बारेमा जानकारी गरायो ।

सिनेमाको फरक शैलीको प्रचारबारे निर्माता प्रकाश पुरीले भने- ‘सडकमा हिँड्ने आम मानिससँग प्रत्यक्ष रुपमा आमने-सामने हुँदा चल्दै आएको प्रचार ट्रेन्डभन्दा केही प्रभावकारी हुने सम्भावना देखेपछि हामीले यो शैली अपनाएका हौं । यो प्रचार शैलीले आम-मानिसलाई सिनेमाप्रति आकर्षित गरेको पायौं । अब यो प्रचार अभियानलाई सिनेमा प्रदर्शनको समयसम्म निरन्तरता दिनेछौं ।’

शुक्रवार काठमाडौंको अनामनगर, नयाँ बानेश्वर, कमलपोखरी, डिल्लीबजार, मैतिदेवी, पुरानो बानेश्वर र पुतलीसडकमा प्रचार अभियान गरिएको थियो । योसँगै सिनेमाको ट्रेलर काठमाडौंका प्रायः सबै चोकमा रहेका डिजिटल स्क्रिनमा पनि देखाउन सुरु गरिएको निर्माता प्रकाश पुरीले बताए । सिनेमाको बिहीवार एक कार्यक्रमका बीच सस्पेन्स-क्राइम ट्रेलर सार्वजनिक गरिएको थियो ।

कान्तिपुर सिनेमा एकेडेमीले पहिलो पटक निर्माण गरेको सिनेमामा सरोज खनाल, निशा अधिकारी, रुविना थापा, निराजन प्रधान, सविन श्रेष्ठ, नरेन खड्का, सरिता लामिछाने, पुनम श्रेष्ठ, संजोग रसाइली लगायतको अभिनय छ । बिमला हुमागाई र पदम पुरी निर्माता रहेको सिनेमामा तेन्जिङ्ग पाल्देनको छायांकन र बनिश शाहको सम्पादन छ ।