दीपक-दीपाको ‘छक्का पञ्जा ४’ शुभमुहूर्तसँगै छायांकन सुरु

दीपक-दीपाको ‘छक्का पञ्जा ४’ शुभमुहूर्तसँगै छायांकन सुरु

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – हेमराज बिसीको निर्देशनमा ‘छक्का पञ्जा ४’को निर्माण घोषणा गरिएको छ । दीपकराज गिरी र दीपाश्री निरौलाको समुहले सोमबार सिनेमा ‘छक्का पञ्जा ४’को शुभमुहूर्त गर्दै छायांकन सुरु गरेको हो । भक्तपुरको सूर्यविनायक मन्दिरमा शुभमुहूर्त गर्दै सिनेमाको छायांकन थालिएको जानकारी दिइयो ।

दीपक-दीपाको समुहले ‘श्री माग्ने राजा’ नाममा सिनेमा निर्माण गर्ने चर्चा चलेको भएता पनि अन्ततः ‘छक्का पञ्जा’ सिरिजलाई अगाडि सारिएको छ । ‘छक्का पञ्जा’को अघिल्ला तीन सिरिजलाई निर्देशन गरेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको यसपटक सिनेमामा अभिनय मात्र रहनेछ । सिनेमाको निर्देशन गर्ने जिम्मेवारी हेमराज विसीले पाएका छन् ।

नरेन्द्र मैनालीको छायांकन रहने सिनेमाको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् । साउनभित्र सम्पूर्ण छायांकन भ्याएर आगामी कात्तिकमा सिनेमालाई प्रदर्शन गर्ने योजना रहेको शुभमुहुर्त कार्यक्रममा निर्माण टिमले जानकारी दिएको छ । आमा सरस्वती मुभिजको ब्यानरमा सिनेमा निर्माण हुनेछ ।

सिनेमामा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहनेछ । दीपक-दीपा समुहको पहिलो सिनेमा ‘६ एकान ६’देखि पछिल्लो सिनेमा ‘छ माया छपक्कै’सम्म मुख्य भूमिकामा अभिनय गरेका जितु नेपाल भने ‘छक्का पञ्जा ४’मा अटाइएका छैनन् ।