चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी नियुक्त

चलचित्र विकास बोर्ड अध्यक्षमा भुवन केसी नियुक्त

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् ।

गायन हुँदै अभिनयमा प्रवेश गरेका अभिनेता भुवन केसी थिए । उनी पछिल्लो समय सिनेमा निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन् । उनले १०० भन्दा बढी सिनेमामा काम गरिसकेका छन् । ‘कुमुसे रुमाल’, ‘सन्तान’, ‘कन्यादान’, ‘चिनो’, ‘करोडपति’, ‘नेपाली बाबु’, ‘सुपरस्टार’ जस्ता सिनेमाले उनलाई सुपरस्टार बनायो । भुवन हाल होम प्रोडक्सनबाट ‘पारस’, ‘एन्टीहिरो’ र ‘माइतीघर २’ निर्माणको तयारीमा छन् ।

दयाराम दाहालको दुई वर्षे कार्यकाल सकिएपछि गत असार १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक सूचना प्रकाशित गरेर बोर्ड अध्यक्षका लागि विभिन्न मापदण्ड तोक्दै आवेदन माग गरेपछि भुवनसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेश पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशील पोखरेल र सुष्मा कार्कीले दरखास्त दिएका थिए ।