‘छड्के २-क्यारेक्टरमा डुब्न अनमोल वर्कशपमा

‘छड्के २-क्यारेक्टरमा डुब्न अनमोल वर्कशपमा

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं –स्टार नायक अनमोल केसी अहिले आफ्नो क्यारेक्टर निर्माणका लागि मेहनत गरिरहेका छन् । छायांकनमा जाने सिनेमा ‘छड्के २’ मा ग्याङ्गस्टरको भूमिकामा देखिन लागेका अनमोल यतिबेला क्यारेक्टरमा डुब्न वर्कशपमा छन् । आफ्नो क्यारेक्टरलाई लिएर अनमोलले गरेको यस किसिमको मेहनत संवत पहिलो हो । लभरब्वाईको भूमिका मार्फत दर्शकको प्रिय बनेका अनमोल यसपटक आफ्नो अभिनय क्षमता थप प्रस्ट्याउने तयारीमा छन् ।

उनको मेहनत देखेर फिल्म युनिट दंग छ । लेखक तथा निर्देशक निगम श्रेष्ठले अनमोल स्टारसँगै राम्रो कलाकार पनि भएको बताए । ‘वर्कशपमा क्यारेक्टरलाई जीवन्त बनाउन अनमोलले गरेको मेहनत तारिफ योग्य छ । अनमोल  क्यारेक्टर लाई लिएर गम्भीर छन्’ निगमले भने । निर्माता मध्येका एक प्रशान्त गिरी पनि वर्कशपमा आफनो टीम भेट्न केहि दीन अघि चितवन पुगेका छन्।

‘हामीले सिनेमामा खोजे झैँ स्टार र कलाकार पाएका छौँ । निर्माताको रुपमा म ब्राण्ड भ्यालू बढाउँन जति तत्पर छु , कलाकारहरु उत्तिकै मेहनती छन्’ उनले भने । फिल्ममा गिरीसँगै लक्ष्मण काफ्ले निर्माता रहेका छन् । काभ्रे फिल्मस्को व्यानरमा निर्माण हुने फिल्मको छायांकन सेड्युल ६० दिन राखिएको छ । ‘हामीले साउन २५ बाटै छायांकन गर्ने तयारी गरेता पनि मौसम अनुकुल नहुँदा एक साता ढिला गर्दै भदौ १ गतेबाट छायांकन गर्नेछौँ । त्यहि समयमा हामी बाँकी कलाकार चिनाउने छौँ’ निर्माता गिरीले भने ।
सिनेमामा अनमोलसँगै रविन तामाङ , कमल मणि नेपाल लगायतको अभिनय रहने छ । छड्केको ब्राण्ड खस्किन नदिन निर्देशकसँगै लेखक रहेका निगम अहिले कलाकारहरुलाई वर्कशप गराईरहेका छन् ।