कुशल र शिल्पाको ‘मिलन’ गीत रिलिज, टिकटक बनाउनेले नगद जित्ने

कुशल र शिल्पाको ‘मिलन’ गीत रिलिज, टिकटक बनाउनेले नगद जित्ने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी कार्तिक १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मिलन’को गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो इसारा काफि छ’ बोलको रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द रचना तथा संगीत रहेको छ भने प्रविशा अधिकारी र कौशलराज खड्काको स्वर छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा डेव्यु अभिनेत्री कुशल शाह र डेव्यु अभिनेत्री शिल्पा थापा फिचर्ड छन् । निर्माण टिमले गीत सार्वजनिक गर्दै टिकटक प्रतियोगिताको समेत घोषणा गरेको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरुलाई भ्युजको आधारमा उत्कृष्ट ५ छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार प्रदान गर्न लागिएको हो ।

यस्तै यही गीतमा टिकटक बनाउनेमध्ये उत्कृष्ट एकले १० हजार पुरस्कार पनि प्राप्त गर्नेछन् । सिनेमाका निर्देशक टेक पौरखी राईले राम्रो टिकटक बनाउनेहरुको पनि भ्युज नआउन सक्ने भन्दै ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइने बताए । निर्माण टिमले छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७ गर्दै १ हजारसम्म जित्ने अवसर दिएको छ ।

असोज १० गतेदेखि असोज २० गतेसम्म आफ्नो टिकटक भिडियो सिनेमाको फेसबुक पेजमा पठाउनुपर्नेछ । सिनेमामा कुशल र शिल्पाका अलवा सलोन बस्नेत, शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगरलगायतको पनि अभिनय रहेको छ ।

सिनेमाको कथा निर्देशक राई स्वयंमले लेखेका हुन् । राहुल राईको छायांकन रहेको सिनेमामा कुमार महर्जनको द्वन्द्व र तारा किम्बे थापाको सम्पादन छ । काठमाडौं र कालिन्चोकमा खिचिएको सिनेमा ‘मिलन’को निर्माता प्रविन थापा हुन् ।