‘डिसेम्बर फल्स’ गीतमा उपासना फकाउँदै आर्यन

‘डिसेम्बर फल्स’ गीतमा उपासना फकाउँदै आर्यन

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको एक्सन-लभस्टोरी सिनेमा ‘डिसेम्बर फल्स’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच ‘फकाउनै जानिनँ’ बोलको लोकलयको गीत रिलिज गरिएको हो ।

दीपक शर्माको शब्द रचना तथा संगीत रहेकको गीतमा निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ । रामजी लामिछानको कोरियोग्राफी सार्वजनिक गीतमा हेर्न सकिन्छ । भक्तपुरको दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरी फिचर्ड छन् । गीतमा उनीहरुको केमेस्ट्री जमेको छ । गीतको अडियो र भिडियो दुवै पक्ष उत्कृष्ट लाग्छन् ।

गीत रिलिज कार्यक्रममा आर्यनले अहिलेको सिनारियोमा आफ्नो करिअरको उत्ककृष्ट गीत ‘फकाउनै जानिनँ’ रहेको बताए । ‘पहिला र अहिलेमा गीत बन्ने सिनारियो अलग छ । अहिलेको सिनारियोमा यो मेरो करिअरको उत्कृष्ट गीत भन्न मिल्छ,’ उनले भने । आर्यनले आफूलाई दर्शकले लभस्टोरी सिनेमामा मन पराएकाले ‘डिसेम्बर फल्स’मा पनि त्यो चिज नछुटेको र दर्शक निराश नहुने दावी गरे ।

सिनेमाकी मुख्य अभिनेत्री उपासनाले आर्यन सिग्देलसँग काम गर्न पाउँदा धेरै कुरा सिक्न पाएको बताइन् । उनले भनिन्, ‘आर्यन सरको आँखाले नै अभिनय गर्छ । उहाँ अनुभवी भएकाले पनि होला, सेटमा हामी हाँसीमजाक गरिरहेका हुन्थ्यौं अनि एकैछिनमा सिनेमामा रुने सिन हुँदा आर्यन सरले मज्जाले गर्दिनु हुन्थ्यो । मलाई चाहिँ अलि समय लाग्थ्यो । उहाँसँग काम गर्दा एकदमै सहज महसुस पनि भयो ।’

नेपाली मुलका भारतीय निर्देशक प्रविण झाद्वारा निर्देशित तथा महेश आर गुप्ताको छायांकन रहेको सिनेमालाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । उनले यसअघि ‘वान डे, कसम, धुवाँ यो नशा र कायरालगायतका सिनेमा निर्माण गरिसककेका छन् । ‘डिसेम्बर फल्स’ उनको पाँचौ सिनेमा हो । सिनेमामा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणाको पनि अभिनय छ ।

रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको ‘डिसेम्बर फल्स’को कार्यकारी निर्माता लक्ष्मण रिजाल र असिम काफ्ले हुन् भने निर्मातामा रामप्रसाद रिजालसँगै राजकुमार भट्ट छन् । विपिका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ । आगामी पौष १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमालाई श्रीराम बालाजी फिल्मस्ले देशभर वितरण गर्दैछ ।

तस्वीर : महम्मद जलिम