‘अवतार २’ का कारण सर्‍यो ‘सरी मम’, अब माघ ५ मा हुनेछ रिलिज

‘अवतार २’ का कारण सर्‍यो ‘सरी मम’, अब माघ ५ मा हुनेछ रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् मंसिर २९ गतेलाई प्रदर्शनको सिनेमा ‘सरी मम’ हलिउडको बहुप्रतिक्षित सिनेमा ‘अवतार’को प्रभावलाई मध्यनजर गर्दै एक महिना पछाडि पोष्टपोन्ड भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ट्रेलर सार्वजनिक गर्दै आगामी माघ ५ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो ।

कुलतमा परेको एक किशोर र त्यसले उसको परिवार र जीवनमा ल्याउने उतारचढावलाई ट्रेलरमा देखाइएको छ । एनएफआई क्रियशनको ब्यानरमा निर्मित सिनेमा लागुऔषध दुव्र्यसनीविरुद्ध निर्माण भएको हो । नविन बोगटी सिनेमाका निर्देशक हुन् । ट्रेलर रिलिज कार्यक्रममा निर्माता विनोद लामाले नेपाली समाजको वास्तविक कथालाई टिपेर सिनेमा निर्माण गरेको बताए ।

ट्रेलर सार्वजनिक कार्यक्रममा मुख्य कलाकार सरिता लामिछानेले बर्षैंदेखि पर्दा पछाडि रहेर नेपाली सिनेमाको लागि क्रियाशिल प्राविधिकहरूको टिमले तयार गरेको सिनेमामा मिहिनेत र सन्देश जोडिएको बताइन् । साथी संगतले एउटा किशोर कुलतमा फस्दा त्यसले सम्बन्धित परिवारमा र उसको जीवनमा निम्त्याउने परिस्थितिलाई सिनेमाले सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ ।

कथा लेखक समेत रहेका लामाले प्रदर्शनीपछि च्यारिटीमार्फत् लक्षित वर्गमा सिनेमा पुर्याउने बताए । सिनेमामा सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, प्रेविल कडेल, आरवी कटुवाल, बिहान श्रेष्ठ, युनिसा बजगाइँ, रेजिना मगर, सरोज बखुरेल, लालमणि भण्डारीको अभिनय छ ।

‘सरी मम’मा प्रज्वल श्रेष्ठ र नविन बोगटीको संगीत, दिर्घ गुरुङको छायांकन, प्रितम पाण्डेको सम्पादन, आयुष वुढाथोकी र सरोज पौडेलको लेखन छ । रोजिता तामाङ र सिनेटर खेमराज अधिकारी निर्माता रहेको सिनेमाको निर्माण तथा प्रदर्शनीमा नेपाल जेसिज, नार्कोनान नेपाल, प्याब्सन, एन-प्याब्सन, हिसान, शिक्षक महासंघलगायतका प्रतिष्ठित संस्थाहरुले हातेमालो गरेका छन् ।