मलाय युद्धमा गोर्खाली सैनिकको वीरताको कथा ‘गोर्खा वारियर’ टिजर

मलाय युद्धमा गोर्खाली सैनिकको वीरताको कथा ‘गोर्खा वारियर’ टिजर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – मिलन चाम्सको निर्देशित सिनेमा ‘गोर्खा वारियर’को टिजर सार्वजनिक गरिएको छ । सिनेमामा सन् १९४९ मा भएको मलाया युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीको कथा प्रस्तुत गरिएको सार्वजनिक टिजरमा देख्न सकिन्छ ।

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘गोर्खा वारियर’को १ मिनेट ३ सेकेन्ड लामो टिजरले हलिउडको झल्को दिन्छ । भिएफएक्स, ब्याकग्राउन्ड स्कोर, सिनेम्याट्रोग्राफी तथा कलर ग्रेडिङ प्रशंसनीय छ । नेपालीसहित हिन्दी र अंग्रेजी भाषामा प्रदर्शन हुन लागेको सिनेमाको २०२३ मा बेलायतमा १० हजार दर्शकको उपस्थितिमा प्रिमियर गरिने चाम्सले बताए ।

मिलन ‘गोर्खा वारियर’लाई गोर्खा सैनिकको एउटा इतिहास बोकेको सिनेमा दाबी गर्छन् । विश्वलाई नेपाली गोर्खा सैनिकको बहादुरीको कथा देखाउनका लागि सिनेमा निर्माण गरेको निर्माता तथा निर्देशक चाम्स बताउँछन् । टिजर रिलिज कार्यक्रममा उपस्थित पाहुनाबाट पनि सिनेमाको सार्वजनिक टिजरले प्रशंसा पाएको थियो ।

सिनेमामा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशिष गुरुङलगायतको अभिनय छ । विजय लामा सैनिक मेजरको भूमिकामा छन् । लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित सिनेमाको निर्माता सुस्मिता वाइवा र सुमन राई हुन् ।

प्रशान्त थापा र राजेन्द्र घिमिरे कार्यकारी निर्माता रहेको सिनेमाको सह निर्मातामा सुरेश राई छन् । नेपाल र मलेशियामा खिचिएको सिनेमामा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समिर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’को गीत रचना, एलिस कार्कीको संगीत, राजेशपायल राईको स्वर रहेको छ ।