नीताको अभिनयको तारिफ, युट्युबमा रुचाइयो ‘पंचायत’

नीताको अभिनयको तारिफ, युट्युबमा रुचाइयो ‘पंचायत’

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – शिवम् अधिकारी निर्देशित सिनेमा ‘पंचायत’ प्रदर्शनको पाँच वर्षपछि युट्युबमा रिलिज भएको छ । पुष १३ गते नेपालफ्लिक्स युट्युब च्यानलमा सार्वजनिक भएको सिनेमाले आकर्षक भ्यूजसहित लोभलाग्दो प्रतिक्रिया पाइरहेको छ । युट्युब रिलिजको पाँच दिनसम्ममा ७ लाख बढी भ्यूजसहित यतिबेला सिनेमा नेपालको युट्युब ट्रेन्डिङको चौंथो स्थानमा छ ।

संसारकै प्रतिष्ठित ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस समेत भएको सिनमा युट्युबमा हेरेपछि प्रायःले प्रशंसामा शब्द खर्चिएका छन् । धेरैले कथावस्तु र कलाकारहरु नीता ढुंगाना, सरोज खनाल, जाह्न्वी बस्नेतको अभिनयको खुलेर तारिफ गरेका छन् । पञ्चायतकाल ताका एउटा गाउँमा भएको न्याय प्रणाली, समाजिक व्यवस्था, छाउपडी प्रथालाई सिनेमाले उठान गरेको छ ।

सिनेमामा गीता अधिकारी, गणेश गिरी, विशाल पहारी,किरण थापा, राजुबाबु श्रेष्ठ ,रवि अधिकारी, सुचित्रा उप्रेती, अश्विनी कोइराला, प्रकृति ढुंगेललगायतको पनि अभिनय छ । संचारकर्मी रवि अधिकारी कार्यकारी निर्माता रहेको सिनेमाका प्रस्तुतकर्ता गणेश गिरी, निर्माता शुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् । सिनेमाको लेखन तथा निर्देशक शिवम् स्वयंले गरेका छन् । रामेश्वर कार्कीले सिनेमालाई खिचेका हुन् ।

चलचित्र विकास बोर्डले नगद २ लाख पुरस्कार राशीसहित सिनेमालाई ‘विशेष चलचित्र’ समेत घोषित गरेको थियो । त्यस्तै, २०७४ सालमा अमेरिकाको क्यालिफोर्निया राज्यको सन फ्रान्सिस्कोमा आयोजित ‘सन फ्रान्सिस्को सिनेमा महोत्सव’मा ‘पंचायत’ले विदेशी भाषातर्फ उत्कृष्ट सिनेमाको अवार्ड जित्नुका साथै नीता ढुंगानाले ‘उत्कृष्ट मुख्य अभिनेत्री’को अवार्ड समेत जित्न सफल भएकी थिइन् ।