सुरक्षा पन्त अभिनित ‘बहाव’को ट्रेलर सार्वजनिक

सुरक्षा पन्त अभिनित ‘बहाव’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘बहाव’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच अभिनेत्री सुरक्षा पन्तको वरिपरि घुमेको छ । उनले परिवारसँग गरेको विद्रोह र त्यसले उत्पन्न जटिल परिस्थितिलाई ट्रेलरमा देखाइएको छ । ट्रेलरले पछिल्लो समय निर्माण भैरहेका सिनेमा फरक बनेको संकेत गर्छ ।

आगामी चैत २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा बहावको सार्वजनिक गरिएको २ मिनेट १४ सेकेन्ड लम्बाईको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्ने देखिन्छ । प्रमोद कँडेलको लेखन र निर्देशन रहेको सिनेमामा सुरक्षाका अलावा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतको अभिनय छ ।

ट्रेलर रिलिज कार्यक्रममा सुरक्षाले सिनेमामा जोडिनु आफैंमा सुखद क्षण भएको बताउँदै ‘बहाव’ परिवारभित्रको विद्रोहको कथा रहेको बताइन् । सिनेमाले सबै नेपालीले भोगिरहेको कथा भन्ने उनको दाबी छ । निर्देशक तथा लेखक कँडेलले सिनेमा वास्तविक घटनाबाट प्रेरित रहेको जानकारी गराउँदै हरेकले आफ्नो घरभित्रको कथा महसूस गर्ने विश्वास व्यक्त गरे ।

त्यस्तै, सिनेमाका निर्माता श्रीधर पौडेलले निर्देशक कँडेलको कथाबाट प्रभावित भएपछि आफू लगानी गर्नलाई राजी भएको बताए । ‘बहाव’को कथा आफूलाई फरक लागेको पनि उनको भनाई छ । श्रीधरले यसअघि सिनेमा ‘गोपी’ निर्माण गरेका थिए ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईको स्वर, कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन तथा मिक्सिङ छ । ‘छड्के २’ निर्देशक निगम श्रेष्ठको प्रोडक्सन डिजाइन रहेको सिनेमालाई आरआर फिल्मस्ले देशभर वितरण गर्दैछ ।