चैत्र २४ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद २’को ट्रेलर सार्वजनिक

चैत्र २४ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद २’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा ‘प्रसाद २’को ट्रेलर सार्वजनिक गरिएको छ । पहिला आगामी बैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको सिनेमा अब एक हप्ता अगावै अर्थात चैत्र २४ गतेबाट प्रदर्शनमा आउने भएको हो ।

बैशाख १ मा ‘नाई नभन्नु ल ६, जारी, बुलाकी र बिहे पास’ रिलिज हुने भएकाले ‘प्रसाद २’लाई निर्माण पक्षले एक हप्ता अगाडि सार्दै शुक्रबार ट्रेलर सार्वजनिक गरेको छ । सिनेमाको सार्वजनिक ट्रेलरमा जातीय विभेद अन्त्य गर्नका लागि बाबुराम पात्रले गर्ने संघर्षलाई देखाइएको छ । विपिन र केकी अधिकारीको अभिनय बुलन्द छ ।

महिलामाथि हुने बलात्कारको घटनालाई समेत प्रस्तुत गरिएको ट्रेलरमा बाबुरामले अधिकारको लडाईका लागि राजनीतिक पार्टी खडा गरेर चुनावी मैदानमा होमिएको छ । उसलाई रोक्न कसरी षड्यन्त्र र जालझेलको खेल हुन्छ भन्ने कथासार प्रस्ट्याइएको ट्रेलरमा संवाद, छायांकन र ब्याकग्राउन्ड स्कोरको काम राम्रो छ । सुदर्शन थापाको निर्देशनमा निर्माण भएको सिनेमाको स्लोगन ‘माया भन्दा ठूलो नै के छ र ?’ राखिएको छ ।

सिनेमाको कथावस्तुले प्रसाद २ मा दर्शकलाई झनै आकर्षित गर्ने निर्देशक थापा बताउँछन् । स्लोगन २०७५ सालको हिट सिनेमा ‘प्रसाद’मा समावेश गीतको एक अंश हो । सुदर्शन बस्नेत निर्माता रहेको सिनेमाको प्रस्तुतकर्ता सुभाष थापा हुन् । सुशिल पौडेलको लेखन रहेको सिनेमामा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडीलगायतको पनि अभिनय छ ।

सुलभ थापा प्रोडक्सनले एसजी फिल्म्ससँग मिलेर निर्माण गरेको सिनेमाका छायाँकार राजेश श्रेष्ठ हुन् । ‘प्रसाद २’मा विक्रम स्वारको कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटीको शब्द रचना तथा संगीत र शैलेस श्रेष्ठको ब्याकग्राउन्ड स्कोर छ । सिनेमाको वितरण विके फिल्म्सले गर्नेछ ।