महेश र विनिता अभिनित ‘हल्कारा’को टिजर रिलिज

महेश र विनिता अभिनित ‘हल्कारा’को टिजर रिलिज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – बिहीबार सिनेमा ‘हल्कारा’को अफिसियल टिजर सार्वजनिक गरिएको छ । आगामी बैशाख २९ गतेबाट प्रदर्शन आउने सिनेमाको १ मिनेट ४५ सेकेण्ड लामो टिजरमा मुख्य पात्र महेश त्रिपाठीको न्यारेसन (चिठ्ठी वाचन)मा बगेको छ, जहाँ वैदेशिक रोजगारीले सिर्जित समस्यालाई व्यक्त गरिएको छ ।

अमेरिकामा आयोजित ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल’मा तीनवटा अवार्ड जितेको सिनेमाको सार्वजनिक टिजरले सशक्त दृश्यभाषाको छनक दिन्छ । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा बनेको सिनेमामा महेश त्रिपाठी र विनिता थापा मगरको मुख्य भूमिका छ ।

सिनेमामा महेशले हुलाकी (राम)को चरित्र निभाएका छन् भने विनिता मियाको चरित्रमा छिन् । हुलाकी र विदेश बस्ने श्रीमानको चिठ्ठी बुझ्ने महिलाबीच पलाउने प्रेमलाई सिनेमाले मुख्य विषयवस्तु बनाएको संकेत टिजरले गर्छ ।

सिनेमामा महेश र विनिताका अलवा उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की लगायतका कलाकार अभिनय छ । सिनेमालाई निर्देशक सापकोटा, विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको सिनेमालाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले निर्माण गरेका हुन् । सिनेमाको सम्पादन पनि निर्देशक विक्रम स्वयंले गरेका छन् ।

‘हल्कारा’ सत्य कथाबाट प्रभावित रहेको निर्देशक सापकोटा बताउँछन् । वासिङ्टन डीसीमा भएको नेपाल-अमेरिका सिनेमा महोत्सवमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत भएको सिनेमा अन्य अन्तर्राष्ट्रिय फेस्टिभलमा पनि छनोट भएको थियो । सिनेमालाई काठमाडौँमा जीजीए ग्रुप र डीसीएनले वितरण गर्नेछन् भने काठमाडौंबाहिर एफडीले वितरण गर्नेछन् ।