‘बहाव’को पहिलो गीत ‘मन रोग’ सार्वजनिक

‘बहाव’को पहिलो गीत ‘मन रोग’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रमोद कँडेलको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘बहाव’को पहिलो गीत सार्वजनिक गरिएको छ । आगामी चैत २४ गतेबाट प्रदर्शन हुन लागेको सिनेमामा समावेश ‘मन रोग’ बोलको गीतमा सज्जा चौलागाईको स्वर, सुष्मा सिग्देलको शब्द रचना तथा सुशान्त गौतमको संगीत रहेको छ ।

सिनेमाकी मुख्य अभिनेत्री सुरक्षा पन्तको खुसी, निराशा र छटपटीको भावलाई सार्वजनिक गीतको लिरिकल भिडियोमा प्रस्तुत गरिएको छ । गीतको पृष्ठभूमिमा देखाइएको पानीको बहावजस्तै कथाले पनि सुरक्षा पन्तको जीवनमा आउने बहावलाई देखाएको निर्देशक प्रमोदले बताए ।

‘बहाव नयाँ चिजको खोजीमा भइरहेको अवस्थाको विद्रोह हो । सिनेमामा दुई पात्रबीचको अन्तद्वन्द्वपछिको विद्रोहलाई सुरक्षाको चरित्रमार्फत् देखाउन खोजेका छौं’, उनले स्पष्ट पारे । सिनेमाको विषयवस्तु ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ । निर्देशक कँडेलका अनुसार ‘बहाव’ सत्य कथाबाट प्रभावित भएर निर्माण गरिएको हो ।

सिनेमामा सुरक्षाका अलवा कमलमणि नेपाल, अफरान अली, इश्वरी सिंह, हीरालाल कँडेल, सुर्य शर्मा भट्ट र पवन श्रेष्ठको पनि अभिनय छ । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । उनले यसअघि सिनेमा ‘गोपी’ निर्माण गरेका थिए । निर्माता पौडेलले आफ्नो स्वन्त्रता आफैंमा कैद गर्नेहरुका लागि मार्गप्रशस्त गर्ने कथामा सिनेमा निर्माण गरेको बताए ।

सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत रहेको सिनेमामा अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । सिनेमालाई आरआर फिल्म्सले वितरणको जिम्मा लिएको छ ।