‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – गोविन्द सिंह भण्डारीद्वारा निर्देशित सिनेमा ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द रचना र सुशान्त गौतमको संगीत छ ।

सिनेमाका मुख्य कलाकारहरु अभिनेत्री शुभेक्क्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्री फिचर्ड गीतले प्रेम वियोगको कथा बोल्छ । गीतमा अरुणले रियालिटी शो ‘सुर सितारा’मा गीत गाएर प्रेम पीडा पोखेको देख्न सकिन्छ । सिनेमा त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको सार्वजनिक गीतबाट पनि प्रष्ट हुन्छ ।

सिनेमाको गीत रिलिज कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले हिन्दी र तेलुगू भाषामा प्रेमा स्वरांकन गरिएको जानकारी दिए । नेपालमा प्रदर्शनपछि सिनेमालाई भारतको ओटीटी प्लेफर्ममा रिलिज गर्ने योजनामा निर्देशक भण्डारी छन् । गीत सार्वजनिक कार्यक्रममा तेलुगू भाषाको ट्रेलर पनि पत्रकारहरुलाई देखाइएको थियो ।

नेपाली सिनेमाको बजार अन्य मुलुकमा पनि खोज्नुपर्छ भन्ने उद्देश्यले ‘प्रेमा’को हिन्दी, तेलुगू र तामिलमा डबिङ गरिएको निर्देशक भण्डारीले बताए । उनले भने, ‘हलिउडदेखि बलिउडसम्मले अन्य देशमा पनि आफूलाई फैलाएका छन् । हामीले पनि त्यो गर्नुपर्छ भन्ने सोचले सिनेमा तीन भाषामा डबिङ गरेका हौं । भारतमा सिनेमालाई हलमा भन्दा पनि ओटीटी प्लेटर्फममा रिलिज गर्ने उद्देश्य आफुहरुको रहेको छ ।’

आगामी चैत १७ गतेबाट प्रदर्शन आउने तयारीमा रहेको सिनेमामा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)को पनि अभिनय छ । निर्देशक भण्डारी र विवेक घिमिरे निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता सामर्थविक्रम थापा हुन् ।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा ‘प्रेमा’ निर्माण गरिएको हो । निर्देशक भण्डारीले डेब्यू सिनेमा ‘रणवीर’बाट निर्देशनमा राम्रो सम्भावना देखाएका थिए ।