‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत ‘कथा’ सार्वजनिक

‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत ‘कथा’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – कोरियोग्राफर रेनशा वान्तवा राई निर्देशित सिनेमा ‘ज्याकी : आई एम ट्वान्टी वान’को पहिलो गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रम बीच सार्वजनिक गरिएको ‘कथा’ बोलको गीतमा सिनेमाका मुख्य पात्र धिरज मगर र जसिता गुरुङ फिचर्ड छन् ।

गीतमा त्रिशला गुरुङ र रोहित शाक्यको युगल स्वर, किरण थापाको शब्द रचना र रोहित शाक्य तथा किरण थापाको संगीत रहेको छ । भारतको चर्चित डान्स रियालिटी शो ‘डान्स प्लस-२’को उपविजेता द वाइल्ड रिपर्च क्रिउको कोरियोग्राफी रहेको गीतले धिरज र जसिताबीचको प्रेमभाव बोल्नुका साथै नृत्यप्रति मोह देखाएको छ । उनीहरुको ‘डान्स मुभ’ सशक्त देखिएकाले नृत्यमा गरेको मिहिनेत गीतमा देखिन्छ ।

आगामी बैशाख २१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेकको सिनेमामा अरुण क्षेत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राई, सूर्यमान लिम्बु, विकास जोशी, रिजोन परियार, सुशान्त गौतमको पनि अभिनय छ । निर्देशक रेनेशा ‘इन्टु मिन्टु लण्डन’मा प्रदर्शनको ५ बर्षपछि निर्देशनमा कमव्याक गरेककी हुन् । यो सिनेमाले नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको थियो ।

कोरियोग्राफीले आफूलाई पहिचान दिएकाले आफूले पनि केही दिनुपर्छ भन्ने लागेर नृत्यको विषयमा सिनेमा निर्माण गर्ने प्रयास गरेको निर्देशक रेनशा बताउँछिन् । तर, नेपालमा नृत्यमा आधारित सिनेमा निर्माण गर्न निकै गाह्रो रहेको अनुभव उनको छ । सिनेमामा रेनशा स्वयंको कथा र पटकथा छ भने संवादमा उनलाई सोमनाथ खनालले सघाएका छन् ।

आइकोर फिल्म्सको ब्यानरमा प्रभु शमशेर जबरा राना र प्रज्ज्वल शमशेर जबरा रानाले सिनेमा निर्माण गरेका हुन् । नृत्यको विषयमा निर्माण भएको सिनेमामा कालिप्रसाद बाँस्कोटा तथा रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।