‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक

‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’को पहिलो गीत ‘मार्सी धान’ सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक लोक शैलीको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने राजनराजकै शब्द तथा संगीत छ ।

विवाहको परिवेशमा तयार पारिएको गीतको अडियो र भिडियो पक्ष बलियो छ । विक्रम स्वारको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका कलाकारद्वय विपिन कार्की र केकी अधिकारीको साथमा म्यूजिक भिडियोको हिट जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारी नृत्य गर्दै देखिएका छन् । आश्मा र सरोजको नृत्य दमदार छ ।

विपिन र केकी सार्वजनिक गीतमा सिनेमाकै चरित्रमा प्रस्तुत छन् । गीतले सिनेमामा कथावाचनको रुपमा भूमिका खेलेको निर्देशक थापाले जानकारी दिए । रंग पत्रकार सुशील पौडेलको कथामा तयार भएको सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन् । मिलन श्रेष्ठको सम्पादन रहेको छ । एजी फिल्म र सुलभ थापा प्रोडक्शनको सहकार्यमा सिनेमा निर्माण भएको हो ।

सुभाष थापा प्रस्तुतकर्ता रहेको सिनेमाका निर्माता सुदर्शन बस्नेत हुन् । सिनेमामा अर्पण थापा, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे, विशाल पहाडी लगायत कलाकारको पनि अभिनय रहेको छ । सिनेमा आगामी चैत्र २४ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुँदैछ ।