दयाहाङ र प्रकृतिको ‘बिहे पास’ ट्रेलर सार्वजनिक

दयाहाङ र प्रकृतिको ‘बिहे पास’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – प्रवेश पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘बिहे पास’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार इन्टरनेटमा सार्वजनिक गरिएको सिनेमाको ट्रेलरले विवाह गर्न सरकारी जागिर खानैपर्ने प्रवृत्तिलाई कटाक्ष गर्छ ।

सिनेमाको सार्वजनिक ट्रेलर मुख्य पात्र दयाहाङ र प्रकृतिको वरीपरी घुम्छ । तीन मिनेट लामो ट्रेलरले नेपाली समाजमा व्याप्त विवाह परम्पराको एक पाटोलाई चित्रण गरेको छ । विवाह गर्नैको लागि लोकसेवाको परीक्षा दिएर सरकारी सेवामा नाम निकाल्न मुख्य पात्रले गर्ने तिकडम र संघर्षको कथा सिनेमाले प्रस्तुत गर्छ ।

सिनेमामा दयाहाङ र प्रकृतिले दम्पतीको भूमिका निर्वाह गरेका छन् । दयाहाङको एकपछि अर्को झुट खुल्दै जाँदा दाम्पत्य जीवनमा आउने उतार-चढावलाई ट्रेलरले चित्रण गरिएको छ । सिनेमामा शिशिर वाङ्देल, श्याम राई, बिशाल पहाडी, सुवास गजुरेल, हिउँवाला गौतम, रुषा न्यौपाने, नवीन शेरचन, उमा बानियाँ र प्रकाश भुजेलले अभिनय गरेका छन् ।

पूर्वी नेपालका बिभिन्न रमणीय स्थलमा खिचिएको सिनेमाको प्रस्तुतकर्ता रोहित कटेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ छन् । शिब ढकालले खिचेको सिनेमालाई मित्र गुरुङले सम्पादन गरेका हुन् । मर्रे केर, आकाश बराल र सजन काफ्लेको संयुक्त कथा रहेको सिनेमाको पटकथा भने आकाश र सजनले लेखेका हुन् ।

रोजन श्रेष्ठ निर्माता, ग्याल्जेन लामा र बालकृष्ण पाख्रिन सह-निर्माता रहेको सिनेमा बैशाख १ गतेबाट प्रदर्शनमा आउँदैछ ।