‘कैदीको पत्र’को रोमान्टिक गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक

‘कैदीको पत्र’को रोमान्टिक गीत ‘मेरो दिलको तालमा’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा ‘कैदीको पत्र’को पहिलो रोमान्टिक थिमको गीत सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा सार्वजनिक ‘मेरो दिलको तालमा’ बोलको गीतमा प्रताप दास र सुबानी मोक्तानको स्वर रहेको छ । निर्देशक सनम कुमार बैरागको शब्द रचना तथा सुरेश सेञ्चुरीको संगीत सुन्न सकिन्छ । यो गीतको अंग्रेजी लाइन निखिल गोतामेले लेखेका हुन् ।

कविराज गहतराजको नृत्य निर्देशन रहेको सिनेमाको सार्वजनिक गीतको भिडियोमा कुनाल बिश्व र ब्रिटिश अभिनेत्री म्याडिशन लाजारस प्रेमिल भावमा प्रस्तुत छन् । प्रेम र रोमान्सको कथामा बनेको सिनेमामा आफ्नो जीवनमा पाएको खुशीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार-चढाव तथा भोग्नुपर्ने कठिनाइलाई देखाइएको निर्देशक सनम कुमार बैरागले जानकारी दिए ।

सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएको सिनेमामा कुनाल र म्याडिशनका अलवा सलिना थापामगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठलगायतको अभिनय रहेको छ । दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी सिनेमाका निर्मातामा रहेका छन् ।

आगामी बैशाख १५ गतेबाट प्रदर्शनमा आउने सिनेमामा डिओपी रामेश्वर कार्की, सम्पादन अर्जुन जिसिले र ब्रिटिश कलरिष्ट यासिन एनचौबीले कलर ग्रेडिङ्ग गरेका छन् ।