आँचल र आशिर्वाद अभिनित ‘नाई नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

आँचल र आशिर्वाद अभिनित ‘नाई नभन्नू ल ६’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्देशक विकासराज आचार्य निर्देशनमा निर्माण भएको सिनेमा ‘नाई नभन्नू ल ६’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेट रिलिज गरिएको ट्रेलर प्रेम र वियोगले भरिएको छ । अनुभव रेग्मी र योगिशा खत्रीको प्रेमबाट सुरु भएको ट्रेलर डेब्यू अभिनेता आशिर्वाद क्षेत्री र अभिनेत्री आँचल शर्माको वियोगमा पुगेर टुंगिएको छ ।

सार्वजनिक ट्रेलरमा आँचलको प्रेमका खातिर आशिर्वादले गरेको एक्सन पनि समावेश छ । आशिर्वाद हाबी देखिएको ट्रेलरमा केकी अधिकारी, प्रियंका कार्की, सरोज खनाल, खड्ग बहादुर पुन (खबपु), अभिनेता निखिल उप्रेतीका छोरा अथर्वले पनि स्थान पाएका छन् । निर्देशक आचार्यले ‘नाई नभन्नू ल’ सिरिजमा एक्सन मिसाएर दर्शकलाई नयाँ स्वाद दिन खोजेको देखिन्छ । आशिर्वाद एक्सन अवतारमा गज्जब देखिएका छन् ।

सिनेमालाई निर्देशक आचार्य, सामीप्यराज तिमल्सिना र अरुणदेव जोशीले लेखेका हुन् । भुपेन्द्र रायमाझी, बसन्त सापकोटा र शरद शंकरको संगीत रहेको सिनेमा आगामी बैशाख १ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । ‘नाई नभन्नू ल’का अघिल्ला पाँटवटै श्रृंखला घरेलू बक्सअफिसमा सफल भएकाले छैटौं सिरिजलाई लिएर पनि दर्शकमा अपेक्षा उच्च रहेको छ ।

आख्यान फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा विकासराज आचार्य र विष्णुमणि दाहाल छन् । सञ्जय न्यौपाने, रमेश चौधरी, पुरुषोत्तम प्रधान सिनेमाका कार्यकारी निर्माता हुन् । सिनेमामा हिमाल केसीको द्वन्द्व निर्देशन, पुरुषोत्तम प्रधानको छायांकन, सन्देश शाहको सम्पादन, एलिस कार्कीको ब्याकग्राउन्ड स्कोर, कविराज गहतराज र मनोज विश्वकर्माको कोरियोग्राफी रहेको छ ।