सुरक्षा अभिनित ‘बहाव’को दोस्रो गीत ‘बहाव यी मनका’ सार्वजनिक

सुरक्षा अभिनित ‘बहाव’को दोस्रो गीत ‘बहाव यी मनका’ सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी शुक्रबार अर्थात् चैत २४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘बहाव’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘बहाव यी मनका’ बोलको शीर्ष गीतमा युवराज चौलागाईको स्वर, प्रमोद कँडेलको शब्द रचना, वसन्त सापकोटाको संगीत र विषय आचार्यको एरेन्ज छ ।

सार्वजनिक गीतले सिनेमाका प्रमुख पात्रहरुको भावनालाई व्यक्त गरेको छ । गीतमा शब्द रचना शक्तिशाली छ । स्वर र संगीत पक्ष पनि उम्दा छ । गीतबारे गायक चौलागाई भन्छन्, ‘मानिसहरूको अन्तर मनको वेदनाहरू र जिन्दगीसँग निस्सासिएको एउटा व्यक्तिको मनभित्रको बहावलाई यो गीतमार्फत व्यक्त गर्ने खोजिएको हो । मैले शब्दको भावमा डुबेर गाएको थिएँ ।’

त्यस्तै, संगीतकार सापकोटाले यो गीत अप्रत्याशित तवरले बनाइएको स्मरण गर्दै गीतले जोकोहीलाई मायाको भावदेखि वियोगान्तको बहावसम्म र्पुयाउने बताए । स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुति रहेको सिनेमा ‘जिज्ञासा, विचार अनि यथार्थको कथा’मा आधारित छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको सिनेमाका निर्माता श्रीधर पौडेल हुन् । पौडेलले यसअघि सिनेमा ‘गोपी’ निर्माण गरेका थिए । सिनेमामा सुरक्षा पन्त, कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, ईश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठ लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।