‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सनम कुमार बैरागको निर्देशनमा निर्माण भएको सिनेमा ‘कैदीको पत्र’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार इन्टरनेटमा सार्वजनिक गरिएको २ मिनेट ४७ सेकेन्ड लामो ट्रेलरमा एक युवक र उसको वरपर सम्बन्धित हुने व्यक्तिहरु र प्रेम सम्बन्धमा आउने उतार-चढावलाई चित्रण गरिएको छ ।

आगामी बैशाख १५ गते प्रदर्शनमा आउने सिनेमाको सम्पूर्ण छायांकन स्कटल्याण्डमा भएकाले दृश्यहरु निकै लोभलाग्दा छन् । सिनेमामा कुनाल विश्व, ब्रिटिश अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, बिजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटी लगायतका नेपाली तथा ब्रिटिश कलाकारको अभिनय छ ।

सिनेमाको पटकथा तथा संवाद निर्देशक बैरागले नै तयार पारेका हुन् । जीवनमा पाएको खुसीलाई सम्हाल्न नसक्दा मानिसले व्यहोर्नुपर्ने उतार-चढाव र भोग्नुपर्ने कठिनाइलाई सिनेमाले देखाएको निर्देशक बैरागले बताए । स्वर्गिय ईश्वर मानन्धरद्वारा लिखित कथा ‘कैदीको पत्र’मा सिनेमा आधारित छ । सिनेमाको निर्मातामा दिल घले, नानी बैराग, कैलाश बिश्वकर्मा र हिराल जोशी छन् ।

सिनेमाका गीतहरुमा सुरेश सेन्चुरी र विनम्र कर्माचार्यको संगीत, प्रताप दास, अन्जु पन्त, सागर आले, प्रविशा अधिकारी, शुभानी मोक्तान र अभिषेक कार्कीको स्वर छ । रामशरण कोइरालाको मुख्य सहायक निर्देशन, रामेश्वर कार्कीको छायांकन, अर्जुन जीसीको सम्पादन र यासिन एनचौबीको रंग संयोजन रहेको सिनेमाको मार्केटिङ श्रीत फिल्म्स एण्ड इन्टरटेनमेन्टले गरिरहेको छ ।

सिनेमालाई काठमाडौं उपत्यकाभित्र जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।