वैदेशिक रोजगारीको कथामा महेश त्रिपाठीको ‘हल्कारा’ ट्रेलर

वैदेशिक रोजगारीको कथामा महेश त्रिपाठीको ‘हल्कारा’ ट्रेलर

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी बैशाख २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘हल्कारा’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर रिलिज गरिएको हो ।

हरेक नेपालीको घरको कथा भन्ने सिनेमाको २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरे युवकको कथालाई प्रस्तुत गरिएको छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत जोडिएको छ । गाउँमा चिठ्ठी पुर्याउने हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाइएको छ ।

सिनेमामा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् । सिनेमालाई कालीपार स्टुडियो र आइसफल प्रोडक्सनले मिलेर निर्माण गरेकका हुन् । सिनेमाले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय सिनेमा महोत्सवहरुमा सहभागी भएर उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट सिनेमाको अवार्ड जितिसकेको छ ।

महेश त्रिपाठी र बिनिता थापामगरको मुख्य भुमिका रहेको सिनेमाका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । हल्कारामा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन रहेको छ । सिनेमामा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

सिनेमा पूर्णरुपमा कमर्शियल तथा मनोरञ्नात्मक रहेको निर्देशक सापकोटाले बताए । ‘हल्कारा’ मेरो लागि एक महत्वपूर्ण अवसर हो । यसमा कलाकारले आफ्नो चरित्रमार्फत नितान्त कलाकारिता देखाउने मौका पाएको अभिनेता त्रिपाठी बताउँछन् । अभिनेत्री थापाले आफुले बर्षौं लगाएर सिकेको अभिनयको अनुभव ‘हल्कारा’मा देखाउने अवसर पाएको बताइन् ।

ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक, ज्योती रानाको प्रोडक्सन साउण्ड, लियोनार्डो क्यान्डियन कलरिस्ट रहेको सिनेमालाई काठमाडौं उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।