हुक्काः एन एब्सर्ड ड्रिम्समा ट्वीस्ट ल्याउने तेज

हुक्काः एन एब्सर्ड ड्रिम्समा ट्वीस्ट ल्याउने तेज

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं ।अभिनेता तेज गिरी काभ्रेमा जन्मिएर हेटौंडामा हुर्किएर हाल काठमाडौंमा बसे पनि १० वर्षदेखि पोखरासँग नजिक छन् । उनलाई चिन्नेले ‘पोखरेली’ नै भनेर चिन्दछन् । यिनै तेज पोखराकै फिल्मकर्मीले निर्माण गरेको सिनेमा ‘हुक्काः एन एब्जर्ड ड्रिम्स’मा विशेष भूमिकामा देखिँदैछन् । सिनेमा आगामी जेठ १२ गतेबाट रिलिज हुँदैछ ।

फिल्ममा तेज उनकै भनाईमा ‘ट्वीस्ट’ ल्याउने चरित्रमा छन् । यसअघि ‘धौली’ र ‘प्रेमगन्ज’मा दमदार अभिनय गरि चर्चा कमाई सकेका तेज ‘हुक्काः एन एब्सर्ड ड्रिम’बाट आशावादी छन् । यो सिनेमा उनको “प्रेमगन्ज“ भन्दा पहिले नै छायांकन भएको सिनेमा हो । विविध कारण रिलिज भने “प्रेमगन्ज“ भन्दा पछि हुन गयो ।
‘धौलीमा मेरो चरित्र माया लाग्दो थियो । आमाको संघर्षमा साथ दिइरहेको पात्रको भूमिका निभाएको थिएँ । जो आफ्नो दाईलाई भेट्नका अतेन्तै भौतारिन्छ्न’, तेज भन्छन्, ‘हुक्काः एन एब्सर्ड ड्रिममा चाहिँ अलिक फरक टाइपको चरित्र छ । म पूर्ण सकारात्मक र पूर्ण नकारात्मक भन्दा पनि अलिक मध्यम किसिमको चरित्रमा देखिएको छु । सिनेमाको कथामा ‘ट्वीस्ट’ ल्याउने पात्रको भूमिका निभाएको छु ।’

तेजको बुझाईमा ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले हुक्काको परिभाषालाई फेरेको छ । ‘हामी हुक्का भन्नासाथ हुक्का तान्ने, धुँवा नै उडाउने भन्ने सोच्छौं । तर सिनेमाले पुर्खाले प्रयोग गर्ने हुक्कालाई देखाउन खोजेको छ । हुक्काको परापूर्वकालमा छुट्टै महत्व थियो । हुक्कालाई एक प्रतीष्ठासंग जोडिएको छ । त्यसमा प्रेम, धोका पनि हुनसक्छ । त्यो लतले मानिसलाई कहाँसम्म पु¥याउन सक्ने भन्ने कुरालाई उठान गरेको छ ।’

तेजको अनुभवमा नेपालमा बनेका अधिकांश सिनेमामा पुरुषलाई प्राथमिकता दिए पनि ‘हुक्काः एन एब्सर्ड ड्रिम्स’ले महिला चरित्रलाई ‘हिरो’को रुपमा प्रस्तुत गरेको छ । ‘सिनेमाको कथाले समाजको पात्रलाई रिलेट गर्छ । निम्न वर्गीय र मध्यम वर्गीय संघर्षको कुरालाई उठान गरेको छ’, तेज भन्छन्, ‘घरको समस्याभन्दा पनि जीवनमा आउने उतारचढावलाई कसरी समाधान गर्न सकिन्छ भन्ने र एउटा पारिवारिक कलहलाई कसरी शान्त मोड दिन सकिन्छ भन्ने हुक्काले देखाएको छ ।’
शम्भु थापाको निर्देशन रहेको फिल्ममा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।