फूलमान वल निर्देशित ‘नीरफूल’को लिरिकल गीत सार्वजनिक

फूलमान वल निर्देशित ‘नीरफूल’को लिरिकल गीत सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सञ्चारकर्मी फूलमान वल निर्देशित सिनेमा ‘नीरफूल’को लिरिकल गीत ‘जिन्दगीकै डुङ्गा’ सार्वजनिक गरिएको छ । आगामी जेठ २६ गते देशभर रिलिज हुन लागेको सिनेमा नीरफूलको गीतको लिरिकल भिडिओमा सिनेमाका मुख्य कलाकारका चल अचल दृश्य समावेश गरिएका छन् ।

सार्वजनिक गरिएको गीतको लिरिकल भिडिओमा रूवी भ्यालीको सुन्दरतासँगै प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई पनि प्रस्तुत गरिएको छ । २०७२ को भूकम्प र फ्यामिली मिसिङको कथावस्तु समेटिएको सिनेमाको गीतमा राजेश पायल राईको स्वर तथा चन्द्रकुमार दोङले संगीत सुन्न सकिन्छ ।

सिनेमामा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी अभिनीत सिनेमाको पटकथा लेखक समेत रहेका निर्देशक वलले नीरफूल भूकम्पले भत्काएको सम्बन्धहरूलाई जोड्न गरिएको प्रयत्नको रूपमा निर्माण गरेको बताउँछन् । धादिङको रूवी भ्याली, रसुवाको स्याफ्रुँबेसीसँगै काठमाडौंमा खिचिएको सिनेमामा अभिनेत्री रेखा थापा विशेष भूमिकामा छिन् ।

सचिन घिमिरे एसोसिएट निर्देशक रहेको सिनेमा प्रमोद कार्कीले खिचेका हुन्, भने निमेष श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्रकुमार दोङको संगीत छ । नेपाल–म्यानमार फ्रेन्डसीप काउन्सिलसँगको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको सिनेमामा पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा लगायतको पनि अभिनय छ ।

सोनाम डोमा कार्यकारी निर्माता रहेको सिनेमामा निर्माताको रूपमा कतारबाट माया केसी, बेलायतबाट दिपक श्रेष्ठ, इजरायलबाट चन्द्रमाया तामाङ, जापानबाट उदय लामा, अमेरिकाबाट रोज लामा, इन्द्र तामाङ, कोरियाबाट दिनेश लम्तरी मगर र नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, तेन्जिन सोनाम लामा, गणेश थापा, अशोक थापा, विके श्रेष्ठ लगायत छन् ।