विजय र दीयाको मर्डर मिस्ट्री ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

विजय र दीयाको मर्डर मिस्ट्री ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असार ८ गतेबाट प्रदर्शनमा आउने अभिनेता विजय लामा र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको २ मिनेट १७ सेकेन्ड लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

रहस्यमय हत्याको अनुसन्धानमा जुटेको प्रहरी र केही कुराको खोजीमा बुबा-छोराले गरेको कष्टकर यात्रालाई देखाइएको छ । सार्वजनिक ट्रेलर थ्रिलर र सस्पेन्स युक्त छ । प्रदीप शाहीको निर्देशन तथा लेखन रहेको सिनेमामा रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचन्द्र राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, धर्मानन्द आचार्य, सुरज खालिङ, विकास अधिकारी, आईशा तामाङ लगायतको विशेष भूमिका छ ।

साई प्रोडक्सनको ब्यानरमा ह्याम्साएर एकाउन्टेनले सिनेमामा सहकार्य गरेको छ । कार्यक्रममा अभिनेता लामाले ‘अन्तिम संस्कार’ आफ्नो लागि एकदमै विशेष रहेको बताए । बुबा अस्पतालमा रहँदा आफूले सिनेमाको कथा सुनेको बताउँदै उनले बुबाको अन्तिम संस्कारको दिन सिनेमा सम्झौता गरेको स्मरण गरे । उनी भन्छन्, ‘मेरो लागि पहिलो सिनेमा ‘आदर्श नारी’ जति विशेष थियो, यो पनि उतिक्कै विशेष छ ।’

दीयाले भने सिनेमामा आफ्नो क्यारेक्टर फरक रहेको बताइन् । सिनेमामा डीएसपीको भूमिका निर्वाह गरेकी उनले भनिन्, ‘पहिलो सिनेमामा मलाई निर्देशक मिलन चाम्सले फरक भूमिकामा प्रस्तुत गर्नुभएको थियो । यसमा पनि मेरो भूमिका अलि भिन्न छ । मेरो लागि यो क्यारेक्टर चुनौतीपूर्ण पनि थियो । अघिल्ला सिनेमाहरुमा म साडी र कुर्थामा देखिएको थिएँ, यसमा भूमिका नै फरक छ ।’

सिनेमाको कार्यकारी निर्मातामा भाइराजा थापा, राजकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ छन् । विनोद सुवेदी क्षितिज सिनेमाका कार्यकारी निर्माता हुन् । बाबु श्रेष्ठको छायांकन र रुपेश गुरुङको सम्पादन रहेको सिनेमाको प्रोडक्सन डिजाइनर प्रेम खड्का हुन् । सिनेमालाई देशभर वितरण गर्ने जिम्मा एप्पल इन्टरटेन्मेन्टले लिएको छ ।