‘परस्त्री’ एक दिन अगाडि बिहीबार नै रिलिज हुने

‘परस्त्री’ एक दिन अगाडि बिहीबार नै रिलिज हुने

द सिनेमा टाइम्स
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सुरज पाण्डेको डेव्यु निर्देशकिय सिनेमा ‘परस्त्री’ बिहीबारबाट नै नेपालमा प्रदर्शन हुने भएको छ । बिहीबार नै कार्तिक आर्यन र कियारा आडवाणी अभिनीत बलिउड सिनेमा ‘सत्यप्रेम की कथा’ प्रदर्शन हुने भएपछि ‘परस्त्री’को टिमले पनि शुक्रबार नकुर्ने निर्णय गरेको हो । नेपाल सरकारले भोलि बकर ईदको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।

‘परस्त्री’लाई बिहीबारै रिलिज गर्न लाग्नुको कारणबारे निर्मात्री शर्मिला पाण्डेले द सिनेमा टाइम्ससँग भनिन्, ‘हामी सिनेमा रिलिजको परम्परा बिगार्ने पक्षमा थिएनौं । तर, नियम सबैलाई हुनुपर्छ । बलिउड सिनेमा बिहीबार नै रिलिज हुन्छ भने हामी किन शुक्रबार कुर्ने ? बलिउड सिनेमाका कारण शोमा पनि तलमाथि हुने भएकाले बिहीबारबाटै सिनेमा प्रदर्शन गर्ने निर्णय गरेका हौँ ।’

हिन्दी भाषामा डबिङ गरेर भारतमा समेत प्रदर्शन हुन लागेको सिनेमाको हिन्दी भर्सन भने नेपालमा लाग्ने छैन । नेपालमा सिनेमाको नेपाली संस्करण मात्र प्रदर्शन हुने जानकारी निर्माण टिमले दिएको छ । प्रदर्शनको पूर्वसन्ध्यामा आज बुधबार साँझ काठमाडौंमा सिनेमाको भव्य प्रिमियर गरिँदैछ ।

विवाहेतर सम्बन्धको कथामा निर्माण भएको सिनेमालाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा शिल्पा मास्के, कोशिश क्षेत्री, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ । सिनेमालाई निरक कँडेलले खिचेका हुन् ।