सिनेमा हलको टिकटिङमा पहुँच प्रदान उपलब्ध गराउन हललाई महानगरको पत्र

सिनेमा हलको टिकटिङमा पहुँच प्रदान उपलब्ध गराउन हललाई महानगरको पत्र

दिनेश सिटौला
0
Shares

द सिनेमा टाइम्स, काठमाडौं – काठमाडौं महानगरपालिकाले सिनेमा हलको बक्सअफिस रिपोर्टमा आफ्नो पहुँच हुनुपर्ने बताएको छ । काठमाडौं महानगरपालिका भित्रका सिनेमा हलमा रहेको बक्सअफिस रिपोर्टमा महानगरको पहुँच हुनु पर्ने बताएको हो ।

महानगरले महानगरभित्रका हललाई आज पत्र पठाउँदै तीनभित्र हलको डिजिटल प्रणालीभित्र सहज पहुँचको व्यवस्था गर्न निर्देशन दिएको छ । सिनेमा हलले दर्शकबाट उठाएको मनोरञ्जन करमा महानगरले आफ्नो पहुँच स्थापित गर्न खोजेको हो । सिनेमा हलले सिनेमाको टिकट मनोरञ्जन कर उठाउँदै आएको छ । उक्त करमा पारदर्शिताका लागि महानगरले कडाइ गर्न खोजेको छ ।

‘मनोरञ्जन करका करदाताले डिजिटल प्रणालीबाट प्रवेश शुल्क संकलन गर्नुभएको भए सो प्रणालीमा ३ (तीन) दिन भित्र र डिजिटल प्रणाली सञ्चालनमा नआएको भए यो पत्र प्राप्त भएको मितिले ३० दिनभित्र प्रवेश शुल्क डिजिटल प्रणाली सञ्चालनमा ल्याई उक्त प्रणालीमा काठमाडौं महानगरपालिका राजस्व विभागलाई पहुँच गराउनु हुन जानकारीसहित निर्देशानुसार अनुरोध छ,’ महानगरले हललाई काटेको पत्रमा उल्लेख छ ।

सिनेमा हलले कति टिकट काट्छ त्यसको जानकारी महानगरलाई पनि होस् भनेर डिजिटल प्रणालीबाट काटिने टिकटको युजर आइडी र पासवर्ड मागिएको काठमाडौं महानगरपालिकामा सहप्रवक्ता दिपक अधिकारीले जानकारी दिएका छन् । सिनेमा हलले प्रतिटिकटको ५ प्रतिशत मनोरञ्जन  कर उठाउँदै आएको छ । उक्त कर कति उठ्यो भन्ने पारदर्शिताका लागि महानगरले यस्तो पत्र काटेको उनले बताए । डिजिटल प्रणालीमा नगएका हललाई एक महिनाभित्र जान र उक्त प्रणालीमा पहुँच प्रदान गर्न भनिएको दीपकले जानकारी दिए ।