ट्रेलर तथा पोस्टर सार्वजनिक गर्दै असोज २६ मा ‘बासेन्जी’ रिलिज घोषणा

ट्रेलर तथा पोस्टर सार्वजनिक गर्दै असोज २६ मा ‘बासेन्जी’ रिलिज घोषणा

द सिनेमा टाइम्स
70
Shares

द सिनेमा टाइम्स, काठमाडौं – आगामी असोज २६ बाट भिडियो गेमको शैलीमा निर्माण गरिएको सिनेमा ‘बासेन्जी’ पनि प्रदर्शनमा आउने भएको छ । केहीदिन अघि ट्रेलर सार्वजनिक गरिएको सिनेमाको बिहीबार एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो ।

गौरीशङ्कर इन्टरटेनमेन्टको ब्यानरमा अमेरिकी नागरिक इयन स्कट क्लेमेन्टको निर्देशन तथा सुरज मैनालीले निर्माण गरेको सिनेमा हरर जनरामा निर्माण भएको छ । प्रवेश पात्रको आँखाबाट र उसैलाई मुख्य पात्र बनाएर सिनेमाको कथा भनिएको छ । निर्देशक क्लेमेन्टले यसअघि सिनेमा ‘म्याङ्गो पिक्कल’ निर्देशन गरेका थिए ।

सिनेमामा निर्देशक क्लेमेन्टका अलवा सुरज मैनाली र गौरव बस्नेतको कथा लेखन रहेको छ । राजीव मानन्धरको छायांकन रहेको सिनेमामा प्रवेशको भूमिकामा असिम निरौलाले अभिनय गरेका छन् भने आकाशको भूमिकामा सुप्रिम राई छन् ।

त्यसैगरी मिथिला शर्मा, सरिता गिरी, अंकित खड्का, प्रवेश उप्रेती, निरु खड्का, प्रतिक दुलाल, सुदीपा पाठक, राज शर्मा, मोक्ष अधिकारीको पनि सिनेमामा अभिनय छ । निर्देशक क्लेमेन्टले सिनेमामा नेपाली सिनेमामा पहिलो पटक नौलो प्रयोग गरिएको बताए ।

यही मितिमा नारायण रायमाझि निर्देशित ‘परदेशी २’ र ऋचा शर्मा निर्मित सिनेमा ‘कौशिद’ पनि प्रदर्शनमा आउँदैछन् ।