दीपेन्द्रको निर्देशनमा निर्माण हुने ‘मेयर’को मुख्य भुमिकामा खगेन्द्र

दीपेन्द्रको निर्देशनमा निर्माण हुने ‘मेयर’को मुख्य भुमिकामा खगेन्द्र

द सिनेमा टाइम्स
98
Shares

द सिनेमा टाइम्स, काठमाडौं – माओवादी नेता अर्थात् सर्लाही जिल्लाको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवनमा आधारित भएर बन्न लागेको सिनेमा ‘मेयर’मा अभिनेता खगेन्द्र लामिछाने अनुबन्धित भएका छन् । अब सिनेमामा उनले मेयर थापाको भूमिका निर्वाह गर्नेछन् ।

निर्देशक दीपेन्द्र के खनालले बुधबार दिउँसो फेसबुकमार्फत् सिनेमामा खगेन्द्र अनुबन्धित भएको जानकारी दिएका हुन् । दीपेन्द्र र खगेन्द्रबीच चौंथोपटक सहकार्य हुन लागेको हो । यसअघि ‘पशुपति प्रसाद’, ‘धनपति’ र ‘पशुपति प्रसाद २’ मा उनीहरुबीच टिमअप भएको थियो ।

मेयर थापाको राजनीतिक उतार-चढाव, उनीमाथि लागेका आरोप र मेयर भएपछि गरेका कामलाई सिनेमामा प्रस्तुत गरिनेछ । आगामी माघबाट छायांकन सुरु हुन लागेको सिनेमा मेयर थापाको पूरापूर बायोपिक भने नहुने बताइएको छ । बागमती क्षेत्रमै छायांकन गरिने सिनेमालाई सागर मैनाली र अर्विसा थापाले निर्माण गर्नेछन् । अर्विसा मेयर थापाकी छोरी हुन् ।

विवादित छविका मेयर थापाले बागमतीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न करिब १२१ बिघा क्षेत्रफल जग्गामा ५८ करोड खर्च गरेर देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भरतताल बनाएका छन् । जुन अहिले मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनेको छ ।