‘पर्खि बसें तिमीलाई’ पोस्टरमा शिवदेखि किरण र रक्षासम्म

‘पर्खि बसें तिमीलाई’ पोस्टरमा शिवदेखि किरण र रक्षासम्म

द सिनेमा टाइम्स
231
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुराना तथा सफल निर्देशक दीपक श्रेष्ठद्वारा निर्देशित २७ औं सिनेमा ‘पर्खि बसें तिमीलाई’को कथासार बुझाउने दुईवटा पोस्टर सार्वजनिक गरिएको छ ।

सार्वजनिक एउटा पोस्टरमा अभिनेता शिव श्रेष्ठसहितका कलाकारहरु गम्भीर र भावुक मुद्रामा प्रस्तुत छन् भने अर्को पोस्टरमा डेब्यू अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकी रोमान्टिक देखिएका छन् । प्रेमले निम्त्याउने परिस्थितिमा सिनेमा केन्द्रित रहेको पोस्टरले बुझाउँछ ।

आगामी पुष २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमामा अनिशा रसाइली, विल्सन विक्रम राई, मनिष श्रेष्ठ लगायतको पनि अभिनय छ । राजाराम बुढाथोकीको निर्माण रहेको सिनेमामा कोमल गुरुङको सह(निर्माण छ । निर्देशक श्रेष्ठले किरण र रक्षामा अभिनयको क्षमता देखेर डेब्यू गराएको बताएका छन् ।

सिनेमामा अहिलेको युवापुस्ताको यथार्थ प्रेमकथा रहेको उनको भनाई छ । परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, संकल्प भुजेलको छायांकन, भुपेन्द्र अधिकारीको सम्पादन, निशा रसाइली र रामजी लामिछानेको नृत्य निर्देशन सिनेमामा रहेको छ ।

सिनेमा ‘बादलपारी’को कालजयी गीत ‘कालो चश्मा लाऊ है मैयाँ विशाल बजारको’लाई रि-एरेञ्ज गरेर यो सिनेमामा समावेश गरिएको छ । यस्तै केही दिन अगामी सिनेमामा समावेश दोस्रो गीत ‘चट्ट गाजल’ पनि सार्वजनिक गरिएको थियो । सिनेमाका सार्वजनिक दुवै गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् ।