‘सलार’ रिलिजसँगै बोर्डले हलमा बढायो अनुगमन, बालबालिका लिएर सिनेमा नहेर्न अनुरोध

‘सलार’ रिलिजसँगै बोर्डले हलमा बढायो अनुगमन, बालबालिका लिएर सिनेमा नहेर्न अनुरोध

द सिनेमा टाइम्स
210
Shares

द सिनेमा टाइम्स, काठमाडौं – सिनेमा हलहरुको अनुगमनलाई चलचित्र विकास बोर्डले नियमित बनाएको छ । बोर्डले सेन्सरबाट उमरजन्य प्रमाणपत्र अनुसार सिनेमा हलमा दर्शक प्रवेश गराउने काम सिनेहलहरुबाट भएनभएको सम्बन्धमा जाँच गर्न अनुगमनलाई नियमित गरेको हो ।

विशेषगरी विदेशी भाषाका सिनेमामा व्यस्कलाई मात्र भनि सिफारिस गरिएका सिनेमाहरुमा निर्वाध रुपमा दर्शकहरु पठाउने गरेको गुनासोलाई सम्बोधन गर्दै बोर्डले पछिल्ले समय हल अनुगमनमा आफ्नो सक्रियता देखाउन थालेको हो ।

बलिउड सिनेमा ‘एनिमल’ प्रदर्शनका दौरान नयाँ बानेश्वर स्थित वान सिनेमाजमा १६ वर्ष मुनीका बालबालिकालाई समेत प्रवेश दिइएको पाइएपछि बोर्ड हलहरुको अनुगमनमा लागेको थियो । बोर्डले आज शुक्रबारबाट सलार रिलिज भएसँगै पुनः हलहरु पुगेर अनुगमन गरेको छ ।

प्रशान्त निल निर्देशित दक्षिण भारतीय सिनेमा ‘सलार’लाई बोर्डले वयस्कले मात्र हेर्न मिल्ने एडल्ट प्रमाणपत्र दिएको छ । यही सिलसिलामा बोर्डका सदस्यहरु राजु केसी र सेन्सर बोर्डका सदस्य ऋषिराज आचार्य बोर्डका कर्मचारीसहित हल हरुमा अनुगमन गर्दै गरेको भेटिएका छन् ।

सिनेमाले प्राप्त गरेको प्रमाणपत्र अनुसारका दर्शकलाई मात्र प्रवेश दिइएको छ कि छैन भनेर अनुगमनमा निस्केको उनीहरुले बताएका छन् । विशेषगरी वयस्क प्रमाणपत्र प्राप्त गरेका सिनेमाले १६ वर्ष मुनीका बालबालिकामा नकारात्मक असर पार्ने भएकाले अनुगमनमा निस्किएको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

बोर्डले अनुगमनमा सक्रियता बढाएसँगै नेपालका सिनेमा हलहरुले परिचयपत्रहरु नागरिक्ता र राहदानी मात्र हेरेर प्रवेश दिइरहेका छन् । उनीहरुले बालबालिका लिएर सिनेमा हेर्न आउने अभिभावकहरुलाई टिकट काउन्टर तथा हलको प्रवेश ढोकाबाटै फर्काउने गरेका छन् ।

बोर्ड वयस्क सिनेमाहरु रिलिजका समयमा पहिले पहिले उदासिन रहने गरेको भन्दै आलोचना खेप्ने गरेको थियो । बोर्डको यस कार्यलाई सिनेकर्मीसँगै आम दर्शकहरुले सरहना गरेका छन् ।