‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक, किरण र रक्षाको प्रेम, विछोड र वेदना

‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक, किरण र रक्षाको प्रेम, विछोड र वेदना

द सिनेमा टाइम्स
140
Shares

द सिनेमा टाइम्स, काठमाडौं – पुराना निर्देशक दीपक श्रेष्ठको निर्देशनमा निर्माण भएको सिनेमा ‘पर्खी बसें तिमीलाई’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी पुस २७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमालाई राजाराम बुढाथोकीले निर्माण गरेका हुन् ।

यो सिनेमाबाट अभिनेता किरण श्रेष्ठ तथा अभिनेत्रीद्वय रक्षा बुढाथोकी र अनिशा रसाइलीले डेब्यु गर्दैछन् । निर्देशक श्रेष्ठले ‘पर्खी बसें’ झैं यसपटक पनि नयाँ अनुहारलाई डेब्यु गराएको बताए । ‘यो त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमामा नयाँ कलाकारलाई लिएर काम गरेको छु । उहाँहरूलाई सिनेमा उद्योगले स्वागत गर्नेमा विश्वस्त छु’, निर्देशक श्रेष्ठले भने ।

निर्देशक श्रेष्ठले आफ्नो २७ औं सिनेमाको रुपमा ‘पर्खी बसें तिमीलाई’ मार्फत डेब्यु गर्ने कलाकारको भविष्य उज्वल रहेको बताए । सार्वजनिक ट्रेलरमा आकाश (किरण) र आभा (रक्षा) को भेट, बढ्ने सामिप्यता, प्रेम र विछोडलाई देखाईएको छ । सिनेमामा आकाशले पठाओ चालकको भूमिका निर्वाह गरेका छन् भने आभा सम्पन्न परिवारको छोरीको भूमिकामा छिन् ।

सिनेमाको सार्वजनिक ट्रेलरलाई साहिल खानले सम्पादन गरेका हुन् । यो सिनेमामा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । सिनेमा ‘बादलपारी’मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको संगीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको सिनेमामा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । सिनेमाको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ ।

सिनेमामा कोमल गुरुङको सह-निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको संगीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

सिनेमालाई काठमाडौं उपत्यकामा करण श्रेष्ठको रीच इन्टरटेनमेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछन् ।