वेब सिरिज ‘खेल’को शुभमुहूर्त, मुख्य भूमिकामा सुरक्षा पन्त

वेब सिरिज ‘खेल’को शुभमुहूर्त, मुख्य भूमिकामा सुरक्षा पन्त

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री सुरक्षा पन्तले वेब सिरिजमा डेब्यू गर्ने भएकी छन् । उनले मुख्य भूमिकामा अभिनय गर्न लागेको सिरिज ‘खेल’को सोमबार कमलादीस्थित गणेश मन्दिरमा शुभमुहूर्त गरिएको छ । बलिउडका दर्जनौं सिनेमामा सह-निर्देशकको रुपमा अनुभव बटुलिसकेका अनुराग प्रधानले सिरिजको निर्देशन गर्नेछन् ।

यो सिरिजमा सुरक्षाका अलवा भोला सापकोटा, सरिता गिरी, मोनिका थापा, समापिका गौतम, हेना नगरकोटी, यम प्रसाद ओली लगायतको पनि अभिनय रहनेछ । एक सय वर्षअघिको काठमाडौंको सेटअपमा छायांकन गरिने सिरिजको पहिलो सिजन पाँच शृङ्खलाको हुने निर्देशक प्रधानले बताए । विश्व चर्चित ओटीटी नेटफ्लिक्सको प्राविधिक मुल्यांकनमा आधारित रहेर सिरिज बन्ने बताइएको छ ।

अभिनेत्री पन्तले आफूले पहिलेदेखि नै ओटीटी प्लाटफर्मको पक्षमा वकालत गर्दै आएको बताएकी छन् । ‘अब बन्ने नेपाली सिनेमा र सिरिजहरु हलमा मात्र सीमित हुनु हुँदैन । विश्वका प्रतिष्ठित ओटीटीमा पनि जानुपर्छ,’ उनी भन्छिन् । उनले नेटफ्लिक्सको गुणस्तर र लक्ष्यमा बनिरहेको सिरिजमा काम गर्न पाएकोमा खुसी व्यक्त गरेकी छन् । स्क्रिप्टअनुसार सिरिज राम्रो बन्ने सुरक्षाको विश्वास छ ।

निर्देशक प्रधानले निर्माता आशिषले तयार पारेको कथामा पटकथा बुनेका हुन् । सिरिजका छायांकार रोशन राई हुन् । केही बलिउड सिनेमामा राईले पनि छायांकार टिममा रहेर काम गरेका छन् ।

नेटफ्लिक्स रिलिजको योजना रहेको सिरिजलाई सिरुपाते कट्स प्रालिको ब्यानरमा आशिष राज महर्जन र लेविस राज महर्जन निर्माण गर्दैछन् । यो सिरिजको सह-निर्मातामा कुनाल गुरुङ रहेका छन् ।