‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यनको टिमअप, दशैंमा रिलिज घोषणा

‘गाउँ नै रमाइलो’मा दयाहाङ र आर्यनको टिमअप, दशैंमा रिलिज घोषणा

द सिनेमा टाइम्स
154
Shares

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता हिमाल कडरियाले नयाँ सिनेमा ‘गाउँ नै रमाइलो’ निर्माणको घोषणा गरेका छन् । उनले निर्माण गरेको सिनेमा ‘नाङ्गो गाउँ’ले बक्सअफिसमा राम्रो व्यापार गरेको थियो । सिनेमा गत भदौ २९ गतेबाट नेपाल र विदेशमा एकसाथ प्रदर्शनमा आएको थियो ।

सिनेमालाई दिनेश राउतले निर्देशन गर्ने पक्का भएको छ । सिनेमामा विकास सुवेदीको लेखन रहनेछ । दिनेशले सिनेमा ‘पुजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । यो सिनेमामा दुई सफल अभिनेताले टिमअप गर्ने पक्का भएको छ ।

सिनेमामा अभिनेताद्धय दयाहाङ राई र आर्यन सिग्देलले काम गर्ने पक्का भएको निर्माता कडरियाले बताएका छन् । दयाहाङ र आर्यनले यसअघि सिनेमा ‘मेरो एउटा साथी छ’मा काम गरेका थिए । यी दुई अभिनेताको टिमअपले फेरि दर्शकमाझ उत्साह थप्ने पक्का छ ।

क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण हुने सिनेमाले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने वुझिएको छ । सिनेमालाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरिएको छ । सिनेमाका अन्य कलाकारहरुको घोषणा विस्तारै गरिने निर्माणपक्षले बताएको छ ।

यो सिनेमाको नेपाल वितरणको जिम्मा आरआर फिल्मस्ले लिएको छ । ओभरसिजमा एमएसएम इन्टरटेन्मेन्टले सिनेमा वितरणको जिम्मा लिएको छ । सिनेमाको छायांकन आउँदो बर्षको जेठबाट सुरु गरिने निर्माण पक्षले उल्लेख गरेको छ । निर्माता कडरियाले सिनेमा ‘दुःखी आत्मा’ निर्माणको घोषणा पनि गरिसकेका छन् । दीपेन्द्र लामाले निर्देशन गर्ने सिनेमामा पनि दयाहाङ राई अनुबन्धित भइसकेका छन् ।