राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस

राष्ट्रिय सभा निर्वाचनमा नीर शाहलाई उम्मेदवार बनाउन सिफारिस

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं – राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेसका तर्फबाट अभिनेता तथा निर्देशक नीर शाहको नाम पनि सिफारिस भएको छ ।

आगामी माघ ११ गते हुन गइरहेको राष्ट्रिय सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस बागमती प्रदेश समितिमा शाहले राष्ट्रिय सभा सदस्यका लागि आफ्नो नाम टिपाएका हुन् । उनले बुधबार नेपाली कांग्रेसको तर्फबाट अन्तिम दिनमा उम्मेदवार रहने गरी नाम दर्ता गराएका हुन् ।

शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारको नाम दर्ता गराउने बुधबार अन्तिम दिन थियो । निर्वाचन आयोगले १९ सदस्यका लागि आगामी माघ ११ गतेका लागि निर्वाचनको मिति तोकेको छ । उम्मेदवारले पुस २३ मा आफ्नो मनोनयन दर्ता गराउनु पर्नेछ ।

अघिल्लै कार्यकालका लागि नीर शाह सिफारिस हुने चर्चा थियो । तर शेरबहादुर देउवाको फाइनल लिस्टमा नपरेपछि उनी राष्ट्रिय सभा सदस्य बन्न सकेका थिएनन् । शाहले गणतन्त्रको स्थापनापछि नेपाली कांग्रेसबाटै राजनीति गर्दै आएका छन् ।

सिनेमा ‘परिवर्तन’बाट नेपाली सिनेमा क्षेत्रमा प्रवेश गरेका शाह नेपाली सिनेमा उद्योगको पहिलो पुस्ताका सक्रिय सिनेकर्मी हुन् । उनले ‘वासुदेव’ ‘बसन्ती’, ‘सेतोबाघ’ जस्ता सिनेमा निर्देशन गरेका छन् । उनले एक सयबढि सिनेमामा अभिनय समेत गरेका छन् ।