‘दिमाग खराब’ले मनायो ५१ औं दिन, सिक्वेल ८३ को दशैंमा आउने

‘दिमाग खराब’ले मनायो ५१ औं दिन, सिक्वेल ८३ को दशैंमा आउने

५१ औं दिनको केक काटेपछि निश्चलले खुशी व्यक्त गरे। उनले घोषित सिक्वेल २०८३ सालको दशैंमा रिलिज हुने जानकारी दिए।

द सिनेमा टाइम्स
84
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’ले आफ्नो प्रदर्शनको ५१ औं दिन मनाएको छ। सिनेमाले राजधानीको रञ्जना सिनेप्लेक्समा शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो । सिनेमा कार्तिक २४ गते सार्वजनिक प्रदर्शनमा आएको थियो ।

सिनेमा अहिले पनि नेपालसँगै डायस्पोरामा समेत प्रदर्शन भइरहेको छ । चौतर्फी तारिफ बटुलेको सिनेमाले ५१ दिन मनाउँदै आफ्नो सिक्वलको समेत घोषणा गरेको छ । ‘दिमाग खराब’ले केक काट्दै प्रदर्शनको ५१ औं दिनको खुशी साटेको हो । सो कार्यक्रममा सिनेमाका कलाकार तथा प्राविधिकहरुको राम्रै उपस्थिति रहेको थियो । कार्यक्रममा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, विजय बराल, रमा थपालिया, निर्देशक निश्चल बस्नेत, निर्माता सुरज बम ठकुरी लगायतको उपस्थिति थियो ।

५१ औं दिनको केक काटेपछि निश्चलले खुशी व्यक्त गरे । उनले घोषित सिक्वल २०८३ सालको दशैंमा रिलिज हुने जानकारी दिए । ‘धेरैले सिक्वेल आउँछ कि आउँदैन भनेर सोध्नुभएको छ । ‘दिमाग खराब’को सिक्वेल आउँछ । २०८३ सालको दशैंमा सिक्वेल आउँछ’, निश्चलले भने, ‘यो सिनेमाबाट हामीले जे चीज भन्न खोजेका छौं, सिक्वेलमा पनि हामीलाई लागेको र राष्ट्रको हितमा हुने विषय नै हुनेछ ।’ निश्चलले ६ वर्षपछि ‘दिमाग खराब’को निर्देशन गरेका हुन् । सिनेमाले १० करोडमाथिको व्यापार गरिसकेको छ ।

सिनेमाका निर्माता रौनक विक्रम कडेल हुन भने कार्यकारी निर्मातामा सुरज बम मल्ल ठकुरी रहेका छन् । काठमाडौंमा सिनेमाका वितरक गोविन्द शाही हुन् भने काठमाडौं बाहिर मनोज राठी हुन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ ।